अखिल कोष स्थापना गर्न साँस्कृतिक साँझ हुँदै

सुर्खेत: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्खेतले वीरेन्द्रनगरमा अखिल साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । अनेरास्ववियुले आइतवार पत्रकार सम्मेलन गरेर यही असोज २९ गते साँस्कृतिक साँझ गर्ने जानकारी दिएको हो । आर्थिक विपन्नताका कारण शिक्षाबाट वञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले अखिल कोष स्थापना गर्न उक्त कार्यक्रम आयोजना गर्न लागिएको अनेरास्ववियु कर्णाली प्रदेश सहसंयोजक प्रेम खड्काले बताए । उनका अनुसार सोही कोषका लागि आर्थिक सहायता जुटाउन विजया दशमी र तिहार पर्वको बीच समय पर्ने गरी अखिल साँस्कृतिक साँझ–२०७९ आयोजना गरिनेछ ।

सुर्खेत सभा हल (सिटी हल) मा हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरूको प्रस्तुतिहरू रहनेछ । साँस्कृतिक साँझमा बहुचर्चित लोक गायक बद्री पंगेनी, हास्यकलाकार राजा राजेन्द्र पोखरेललगायतका कलाकारहरू सहभागी गराउने तयारी भइरहेको आयोजक अनेरास्ववियु सुर्खेतका सचिव ललित खत्रीले जनाए । कार्यक्रम असोज २९ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । साँस्कृतिक साँझ हेर्न सस्तो शुल्कमा टिकटको व्यवस्था गरिएको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजक र प्रायोजक बन्न चाहने संघ–संस्था तथा निजी क्षेत्रहरूलाई सम्पर्क गर्न पनि अनेरास्ववियुले अनुरोध गरेको छ । यसअघि उक्त कार्यक्रम असोज १० गते गर्ने तयारी गरिएपनि विविध कारणले असोज २९ का लागि सारिएको जनाइएको छ ।

प्रकाशित मितिः   १० आश्विन २०७९, सोमबार ०५:०१