नेता कँडेलद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

सुर्खेत: नेकपा(एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सुर्खेतको पश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रका समस्या बुझ्न कँडेलसहित नेताहरूको टोलि बुधवार पञ्चपुरी नगरपालिकामा पुगेका हुन् । उनीहरूले त्यहाँका अधिकांश बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको अवस्थाबारे जानकारी लिएका छन् । स्थलगत अवलोकन टोलिमा सहभागी एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले पन्चपुरीको वडा नम्बर ९ र १० का विभिन्न स्थानमा प्राकृतिक विपद्ले गरेको नोक्सानीबारे अवलोकन गरिएको जनाए । उनका अनुसार राग, बसन्तेकुन्टा, खरालटोल, राजीटोल, तिखाकुना, जामु र तातापानी क्षेत्रमा नेता कँडेलको टोलिले स्थलगत अवलोकन गरेको हो ।

भारी वर्षातका कारण आएको बाढीपहिरोले गत भदौ ३१ गते पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा विभिन्न ठाउँमा ठूलो नोक्सानी गरेको थियो । घरलगायतका भौतिक संरचनामा क्षति भएपछि त्यस क्षेत्रका सयौँ घरधुरी विस्थापित भएका छन् । एमाले कर्णाली प्रदेश इञ्चार्ज एवम् कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कँडेलले प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण संकलन गरी आवश्यक राहत र विस्थापित परिवारको व्यवस्थापना गर्न स्थानीय र प्रदेश सरकारलाई अनुरोध गरेका छन् । उनले विस्थापित परिवारको उचित व्यवस्थापनका लागि आफू र आफ्नोे पार्टीले पनि सक्दो पहल गर्ने बचन दिएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनमा कँडेलसँगै एमाले प्रदेश कमिटी सदस्य देवीराम भुसाल, जिल्ला कमिटी सदस्य अम्मर चन्द र पन्चपुरी नगर कमिटी अध्यक्ष धनबहादुर थापालगायतका नेताहरू सहभागि थिए ।

प्रकाशित मितिः   ७ आश्विन २०७९, शुक्रबार ०९:०८