परिवार नियोजनका साधनको पहुँच कम

सुर्खेत: कर्णाली प्रदेशमा अहिले पनि नागरिकहरूको ठूलो संख्या परिवार नियोजनका साधनको पहुँचबाहिर रहेको पाइएको छ । यहाँका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा छन् । परिवार नियोजनका साधनको प्रयोगदर भने ४७ प्रतिशत रहेको जनाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले नेपालमा झन्डै ६० वर्ष अघिदेखि परिवार नियोजनसम्बन्धी कार्यक्रमको व्यवस्थित कार्यान्वयनको सुरुवात भए पनि यसको पहुँच र प्रयोग बढ्न नसकेको जनाइन् । उनका अनुसार कर्णालीमा ९० प्रतिशत नागरिकमा परिवार नियोजनका साधनबारे ज्ञान छ । तर, पहुँच र प्रयोगदर भने अहिले पनि कम देखिन्छ । कर्णालीका कतिपय नागरिक अझै पनि परिवार नियोजनका परम्परागत विधि अपनाउन बाध्य छन् । खत्रीले कर्णालीमा परिवार नियोजनका परम्परागत विधि प्रयोग गर्नेको सख्या अहिले पनि ९.८ प्रतिशत रहेको जनाइन् ।

बजेट अभावका कारण पनि परिवार नियोजनका आधुनिक साधनको पहुँच विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेको स्वास्थ्य संस्थाहरूले बताएका छन् । समाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि यस कार्यक्रममा १७ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।स्वास्थ्यका लागि समक्ष प्रणाली परियोजनाका डा. सोनाइ चौधरी गिरीले परिवार नियोजनमा गरिएको लगानीले मातृमृत्यु तथा नवजात शिशुको मृत्युमा उल्लेख्य कमी आउने बताइन् । परिवार नियोजनका साधन प्रयोग गर्ने संख्याभन्दा पनि बीचमै यसको प्रयोग रोक्नेहरूसँग परामर्श गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मितिः   ६ आश्विन २०७९, बिहीबार ०५:०२