प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन छलफल

सुर्खेत: वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न सरोकारवालाहरूबीच छलफल थालिएकोे छ । सोही विषयमा सुझाव संकलनका लागि आइतवार अन्तरक्रिया गरिएको छ । कार्यक्रमका सहभागी अधिकांश वक्ताले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्न ढिलाइ गर्न नहुने बताएका छन् । छलफलको क्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वडीन मोदनाथ मरहठाले प्रतिष्ठानमा रूपान्तरण गर्नमा ढिलाइ गर्न नहुने धारणा राखे । ‘कर्णालीका लागि प्रतिष्ठान हुन जरुरी छ । यो समयको माग हो,’ उनले भने, ‘सम्भव पनि छ ।’ अपुुग देखिएका पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरेर स्तरोन्नतिका लागि लाग्नुपर्ने उनले बताए । प्रदेश सरकारले चाहेमा प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा निर्माण गर्न असम्भव नरहेको उनको भनाइ छ ।

विज्ञ भन्छन्, रूपान्तरण गर्न सम्भव छ

अस्पतालको क्षमता विकासका लागि प्रदेश सरकारले अलि बढी अपनत्व लिनुपर्ने सरोकारवालाले बताएका छन् । अस्पतालले दिइरहेको सेवाको अवस्था हेर्दा रूपान्तरण सम्भव रहेको धेरैजसोको धारणा छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डा. अर्जुन कार्कीले योजनागत ढङ्गले काम अघि बढाउन सुझाए । अहिले अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले अगाडि बढेको सन्दर्भमा प्रतिष्ठानमा रूपान्तरण गर्न सकिने उनले जनाए । उनले भने, ‘नजिकको प्रदेश सरकार बढी उत्तरदायी बनेर बजेटको व्यवस्थापन गर्न सके विकास गर्न सम्भव छ ।’

सोही छलफललाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेशकै गौरवको अस्पताललाई स्तरोन्नति गर्ने सवालमा सरकार सधैँ सकारात्मक रहेको बताए । स्वास्थ्य क्षेत्रमा नागरिकको पहँुच बढाउन र सेवाहरू थप सहज बनाउन अस्पतालको विकास गर्न लागिएको उनले प्रष्ट पारे । विज्ञहरूको सुुझाव र सरोकारवालाको छलफलको निष्कर्षका आधारमा अस्पतालको स्तरोन्नतिको योजना अघि बढ्ने उनले बताए । त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले प्रदेश अस्पताल प्रतिष्ठानमा रूपान्तरण भएमा गुणस्तरीय सेवासँगै स्वास्थ्य जनशक्ति उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । अस्पताल विकासका लागि बजेट, नीति र प्रक्रियामा प्रदेश सरकारले सहयोग गर्ने उनले वचन दिए ।

छलफलमा भाग लिँदै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास भए जनशक्ति उत्पादन गर्ने थलो बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन, ‘यो अहिलेको समयको माग हो । स्थानीय तहमा स्वास्थ्यका दक्ष जनशक्ति नहुँदा सेवा गुणस्तरीय हुन सकेको छैन ।’ प्रदेश अस्पताललाई प्रतिष्ठानमा रूपान्तर गर्ने विभिन्न आधाहरू तयार भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनले थुप्रै उद्देश्य राखेर प्रदेश अस्पताललाई प्रतिष्ठानमा विकास गर्ने योजना बनाइएको जनाए । प्रतिष्ठानमा रूपान्तरण गर्दा आवश्यक पर्ने पूर्वाधार विस्तारका लागि पर्याप्त जग्गा रहेको समेत उनले बताए । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि प्रदेश अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरिने उल्लेख छ । त्यसका लागि आधार तय गर्न सरकारले पूर्वाधार तथा सेवा विस्तारलगायतमा यो वर्ष ५२ करोड ४५ लाख विनियोजन गरेको छ ।

प्रकाशित मितिः   ३ आश्विन २०७९, सोमबार ०५:०१