बजार अनुगमन गर

नेपालमा मनाइने केही महङ्खवपूर्ण चाडपर्व नजिकिदै छन् । दसैं, तिहार, छठलगायतका पर्व आउँदैछन् । चाडपर्व नजिकिएसँगै बजारमा महँगी बढेको छ । बजार भाउ बढ्दा उपभोक्ताहरू चिन्तित् बनेका छन् । अरु समयभन्दा चाडपर्वमा मीठो मसिनो किनमेल गर्नेहरूको चाप बढ्छ । यही समयको मौका छोपेर व्यापारीहरूले झनै मूल्य वृद्धि गर्छन् । यसपटक पनि खाद्यान्नदेखि लत्ताकपडाको मूल्य बढाउन थालिएको छ । गत वर्षको तुलनामा यस वर्ष चामल, दाल, पिठोलगायतका दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको उपभोक्ताहरूको गुनासो छ ।

उपभोक्ताहरूका अनुसार केही दिन पहिलेसम्म १६ सयमा किन्ने चामल अहिले दुई हजार २२ सय पुगिसक्यो । दाल, तेलको मूल्य पनि त्यसैगरी बढाइएको छ । चामल र दालमा केजीमै १५ रूपैयाँसम्म बढेको गुनासो छ । उपभोक्ताहरूले केही समय अघि बोराको १५ सय पर्ने चामल अहिले १८ सय पुगेको बताएका छन् । बजारमा बासमती चालमको मूल्य अघिल्लो वर्षको तुलनामा केजीमा झन्डै ४० देखि ४५ रूपैयाँ बढेको छ । अहिले उक्त चामल प्याकमा दुई सय रूपैयाँ केजी बिक्री भइरहेको छ । यो चामल अघिल्लो वर्ष एक सय ५५ देखि एक सय ६० रूपैयाँसम्म बिक्री हुने गरेको थियो । त्यस्तै, पिठो र दालको मूल्य पनि पछिल्ला दिनमा निकै बढेको उपभोक्ताहरूले बताएका छन् । जिरा केजीमा ६० रूपैयाँले वृद्धि भएको छ । व्यापारीहरूले भने खाद्य वस्तुमा मूल्य वृद्धि भएको बताउँछन् । उद्योगहरूबाटै सामानको मूल्य बढेर आएकाले बढाउनुपर्नेको उनीहरूको भनाई छ ।

चाडपर्वको समयमा हरेक वर्ष महँगी बढ्छ । कालोबजारी र उपभोक्ता ठगीका घटना आउँछन् । छिटफुट रूपमा बजार अनुगमन हरेक वर्ष नै हुन्छ । तर पूर्णरूपमा समस्या समाान हुँदैन । यो वर्ष पनि पर्याप्त अनुगमन भएको छैन । त्यसैले बजार अनुगमनलाई प्राथमिकता दिन जरुरी देखिएको छ । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । बजार अनुगमन गरेर उपभोक्ता ठगिन नदिनु राज्यको दायित्व हो । यस्ता कार्य नगर्नका लागि व्यापारीलाई पनि सचेत गराउन जरुरी छ । उपभोक्ता ठग्नु हुँदैन भन्ने चेतनाको विकास गर्नुपर्ने देखिन्छ । साथसाथै चाडपर्वको समयमा नागरिकलाई सहुलीयतमा खाद्यवस्तु उपलब्ध गराउन पनि सरकार गम्भीर हुनुपर्दछ । यसका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजनालाई सबै जिल्लाहरूमा कार्यान्वयन गर्न सकेको खण्डमा उपभोक्तालाई लाभ हुनेछ । महँगी र ठगीसमेत निरुत्साहित हुनेछ ।

प्रकाशित मितिः   ३ आश्विन २०७९, सोमबार ०५:०३