कर्णालीमा छैनन् अब्बल सरकारी विद्यालय

सुर्खेत: कर्णाली प्रदेशमा सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरूको अवस्था अध्ययन गरिएको छ । उक्त अध्ययनले यो प्रदेशमा एउटा पनि सामुदायिक विद्यालय अब्बल नभएको पाइएको छ । कर्णालीमा १२ वटा माध्यमिक विद्यालय मात्रै मध्यमस्तरका देखिएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ टोलिले गरेको स्थलगत अध्ययनले यस्तो देखाएको हो ।

झन्डै ६ वर्ष लगाएर स्थलगत अध्ययन गरेको विज्ञहरूको टोलीले सातवटै प्रदेशका करिब चार हजार आठ सय सामुदायिक माध्यामिक विद्यालयको अनुगमन तथा परीक्षण गरेको थियो । त्यस अध्ययनको प्रतिवेदनमा कर्णालीमा कुनैपनि अब्बल विद्यालय नभेटिएको उल्लेख छ । अध्ययनले यहाँका अधिकांश माध्यमिक विद्यालय सामान्य अवस्थामा सञ्चालनमा रहेको देखाएको छ । कर्णालीमा तीन सय ३० वटा माध्यमिक विद्यालयको शैक्षिक अवस्था सामान्य छ भने चार वटा वटा माध्यमिक विद्यालय कमजोर अवस्थामा रहेका छन् । कर्णालीमा सात जिल्लाका तीन सय सय ४७ सामुदायिक माध्यामिक विद्यालयमा परीक्षण गरिएको थियो । अध्ययन गरिएका विद्यालयहरू मध्ये १२ मध्यम, तीन सय ३० सामान्य र चार वटा कमजोर विद्यालय देखिएका हुन् । एक सय पूर्णाङ्कमा ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० सम्म ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यालयलाई उत्तम अर्थात् वर्गीकरण गरिएको छ ।

अधिकांश विद्यालयको शैक्षिक र भौतिक पक्ष सबल नहुँदा विद्यालयको नतिजा कमजोर देखिएको प्रतिवेदनमा औंल्याइएको छ । विद्यालय व्यवस्थापनको पक्षमा अभिभावक वा विद्यार्थीभन्दा शिक्षक कर्मचारी जिम्मवार हुनुपर्ने सुझावसमेत दिइएको छ । नतिजा कमजोर भएका विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक र खेलसामग्री, कम्प्युटर, पुस्तकालय, प्रयोगशालालगायत न्यूनतम् सेवा सुविधा सुनिश्चित गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख ।

कर्णालीमा १२ वटा मध्यमस्तरका विद्यालयमध्ये हुम्लाको छिप्रास्थित सिता माविले ८० दशमलव सात अंक प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रोमा रूकुम पश्चिमको प्रभात उच्च माविले ७९ दशमलव ५८ अंक प्राप्त गरेको छ भने सुर्खेतको बड्डिचौरस्थित जनज्योती माविले ७७ दशमलव ५८ अंक ल्याएर तेस्रो स्थानमा देखिन्छ । यस्तै, क्रमशः जन नमुना मावि वीरेन्द्रनगरले ७७ दशमलव ९३ अंक, पश्चिम सुर्खेतको पलैटेस्थित सूर्यप्रकाश माविले ७४ दशमलव सात अंक, सुर्खेतकै घुस्रास्थित जनसेवा माविले ७३ दशमलव ०६ अंक, रूकुम–पश्चिमको काँसपोखरीस्थित जनकल्याण माविले ७३ दशमलव चार अंक र सुर्खेतको चौरासेस्थित खाँडदेवी माविले ७२ दशमलव ८६ अंक प्राप्त गगरेका छन् । हुम्लाको वरागाउँस्थित रुलिङ माविले ७२ दशमलव ५९ अंक, सुर्खेतको स्याउली बजारस्थित जीवन ज्योती माविले ७२ दशमलव पाँच, कालीकोटको कुमालगाउँस्थित रमा माविले ७१ दशमलव ३८ अंक र सुर्खेतको लेकफर्सास्थित ७० दशमलव दुई अंक प्राप्त गरी १२औँ स्थानमा रहेको छ ।

देशभर ६ हजार आठ सय ८५ वटा सामुदायिक मावि सञ्चालनमा छन् । तीमध्ये प्रत्येक प्रदेशलाई समेटेर ६० जिल्लाका चार हजार आठ सय ४५ अर्थात् ७० प्रतिशत विद्यालयका शैक्षिक, भौतिक पूर्वाधारलगायत विविध पक्षमाथि कार्यसम्पादन परीक्षण गरिएको थियो । विज्ञ खटाएर विद्यार्थीलाई परीक्षामा अंक दिने जस्तै प्रत्येक विद्यालयलाई अंक दिएर राष्ट्रिय रूपमा परीक्षणको श्रेणीकरण गरिएको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले बताए ।

प्रकाशित मितिः   ३१ भाद्र २०७९, शुक्रबार ०५:०१