नेपाल सेमिफाइनलबाटै बाहिरियो

चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ  सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो ।

पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल संहालिन सकेन । ५८औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् ।

नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पायो । पाएको अवसरलाई स्टार स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै गोलअन्तर कम गर्न सफल भइन् ।

तर ८४औं मिनेटमा भारतले तेस्रो गोल गर्‍यो । कर्नरबाट प्राप्त बललाई स्ट्राइकर सस्मिता मलिकले गोलमा परिणत गरेकी हुन् ।

यसअघिका तीनै संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपालले एक बर्षअघि साग गेम्सको स्वर्णका लागि भएको स्पर्धामा पनि भारतसँगै पराजय ब्यहोरेको थियो ।

यसपटकको प्रतियोगितामा सेमिफाइनलमै भारत प्रतिद्धन्दी पाएको नेपालले इतिहास परिवर्तन गर्न सकेन र भारतसँग पुनः निरिह भयो ।

समूहचरणको तीनै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको प्रमुख दावेदारिता प्रस्तुत गरेको नेपालले सेमिफाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

नेपाल रक्षापंक्ति र अग्रपंक्ति दुवैमा कमजोर देखिएको थियो । समूहका दुई खेलमा ११ गोल गरेकी नेपालकी मूख्य स्ट्राइकर सावित्रा भण्डारीलाई भारतले बिशेष मार्क गरेको थियो । त्यसैले आजको खेलमा उनले खुलेर खेल्न सकिनन् ।

उता बंगलादेशसँग बराबरीको नतिजा आत्मसाथ गरेको भारतका स्ट्राइकरहरुलाई रोक्न नेपालको रक्षापंक्ति असफल सावित भयो ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक कुमार थापाले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए । उनले भने, ‘भलै हामीले खेल हार्‍यौं, तर हामीले उत्कृष्ट खेल प्रदर्शन गर्‍यौं ।’, थापाले थपे, ‘तीनवटा पेनाल्टीको अवसरमा रेफ्रीले हामीलाई प्रतिकुल निर्णय दिए, म मात्र होइन स्वयं भारतीय टोलीका प्रशिक्षक पनि रेफ्रीको निर्णयप्रति सन्तुष्ट छैनन् ।’

प्रकाशित मितिः   १८ पुष २०७३, सोमबार १८:४०