ओपिडी बन्द गरेर स्वास्थ्यकर्मी आन्दोलित
सुर्खेत: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू ओपिडी सेवा बन्द गरेर आन्दोलित बनेका छन् । जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा नै बन्द गरेका छन् । उपचारका क्रममा डा. साहले बाल हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उनीविरुद्ध भदौ १३ गते जाहेरी दरखास्त दर्ता भएको थियो । जिल्ला अदालत जुम्लाले सोमवार अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको छ ।
यसअघि चिकित्सकहरूले डा. साह कुट्ने कर्मचारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्न माग गरेका थिए । डा. साहलाई कुटिएको सिसीटिभी फुटेजमा स्पष्टसँग देखिँदादेखिँदै पनि कुटाइ खाने डाक्टरलाई नै पक्राउ पुर्जी जारी गर्नु बिडम्बना भएको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए ।
प्रतिष्ठानमा समस्या उत्पन्न हुनुको मुख्य कारण भदौ २ गतेको घटना हो । त्यसदिन प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाही र डाक्टर साहबीच झगडा भएको थियो । धनबहादुरले आवेगमा आएर डाक्टर साहमाथि हातपातसमेत गरेका थिए । डाक्टर र कर्मचारी बीचको सोही लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको हो । जसले गर्दा अहिले आकस्मिकबाहेका स्वास्थ्य सेवा नै ठप्प पारिएकोे छ । डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर त्यही दिनदेखि प्रहरी हिरासतमा छन् । आफ्ना बालक छोरामाथि डाक्टर साहले हिंसा गरेको भन्दै धनबहादुरकी श्रीमती आशा हमाल शाहीले प्रहरीमा जाहेरी दिएकी थिइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुरलाई ४५ दिनका लागि निलम्बन गरेको छ ।
घटना र अबको सेवा सञ्चालन गर्ने विषयमा प्रतिष्ठानका उपकुलपति नै अन्योलमा छन् । ‘घटनापछि डाक्टरको उजुरीका आधारमा भित्र नियमानुसार प्रक्रिया चलिरहेको थियो । हामीले समिति बनाएर कुटपिट गर्ने सदस्यलाई निलम्बन पनि गरिसकेका थियौं,’ उपकुलपति डाक्टर मंगल रावलले भन्छन्, ‘अब बीचमा डाक्टरलाई नै पक्राउ पुर्जी जारी भयो भनेपछि कसैले पनि इमरजेन्सीबाहेकका काम नगर्ने भनेका छन्, म आफै अचम्मित छु ।’ उनले यो घटनाले स्वास्थ्यकर्मीहरू हतोत्साही भएको बताए ।
यसैबीच प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत ६० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन् । उनीहरूले बुधवार उपकुलपतिलाई पत्र लेख्दै सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
डाक्टरहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा सेवा दिनलाई असमर्थ भएको, कानुनी राज्यको आभाष नभएको आदि कारण देखाउँदै सामूहिक राजीनामा दिएको बताएका छन् । उनीहरूले डा. साहमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गरेका छन् ।
घटनालाई अतिरञ्जित बनाई पीडित डा. साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि आन्दोलित बन्नु परेको चिकित्सकहरूले बताएका छन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दा आफ्ना माग सम्बोधन नभएपछि सामूहिक राजिनामा दिनुपरेको उनीहरूले बताएका छन् । सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘डा. साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ । जसकारण हामी सामूहिक राजीनामा दिन बाध्य छौं ।’
प्रकाशित मितिः २३ भाद्र २०७९, बिहीबार ०५:०५
साझा बिसौनी ।