संसद्‍मै गयल सांसद

कर्णाली प्रदेशसभाको हालसम्मका बैठकमा सबैभन्दा धेरै गयल पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र सबैभन्दा बढी उपस्थित एमालेकी प्रदेशसभा सदस्य राजु नेपाली छन् ।

सुर्खेत: कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको यो अवधिसम्म दशौँ अधिवेशन बसेको छ । झन्डै साढे चार वर्षको अवधिमा दुई सय १५ वटा बैठक सञ्चालन भएका छन् । ती बैठकहरूमा अधिकांश प्रदेशसभा सदस्यहरू भने नियमित उपस्थित भएका छैनन् । प्रदेशसभा सचिवालयको विवरणअनुसार संसद्मा सबैभन्दा बढी गयल हुनेमा महेन्द्रबहादुर शाही छन् । पूर्वमुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेतासमेत रहेका शाही ९७ वटा बैठकमा मात्रै उपस्थित भएका हुन् । शाही संसद्का एक सय १८ बैठकमा अनुपस्थित रहेको तथ्यांक प्रदेशसभा सचिवालयमा छ ।

प्रदेशसभामा सबैभन्दा धेरै उपस्थित हुने सदस्यमा राजु नेपाली देखिएकी छन् । उनी प्रदेशसभाका दुई सय १५ वटा बैठक बस्दा दुई सय १० दिन उपस्थित भएकी छन् । नेकपा (एमाले) की सांसद नेपाली पाँच वटा बैठकमा मात्रै अनुपस्थित भएकी हुन् ।

त्यस्तै, हालका मुख्यमन्त्री जीवनबहादुर शाही यस अवधिमा एक सय ७७ दिन संसद् बैठकमा हाजिर भएका छन् । संसद् सचिवालयको विवरणअनुसार उनी ३७ वटा बैठकमा उपस्थित भएका छैनन् । शाही मुख्यमन्त्री बन्नुअघि प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा थिए । उनी नेपाली कांग्रेस संसदीय दलका नेतासमेत हुन् ।

कर्णाली प्रदेशसभामा सत्तापक्षजस्तै प्रतिपक्ष दलका सांसदहरूको उपस्थिति पनि कमै छ । प्रमुख प्रतिपक्ष दल एमालेका नेता यामलाल कँडेल एक सय ७२ दिन संसद् बैठकमा उपस्थित भएका छन् । संसद्मा प्रतिपक्षको भूमिका महŒवपूर्ण हुने भएपनि दलकै नेता ४३ वटा बैठकमा अनुपस्थित भएको पाइएको हो । एमालेका प्रमुख सचेतक गुलाबजंग शाह एक सय ९६ दिन बैठकमा उपस्थित भएको विवरण छ । दलको प्रमुख सचेतकको भूमिका संसद् बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित गराउने, बैठकमा बोल्ने विषयमा समन्वय गर्नेलगायतको जिम्मेवारी हुन्छ । तर, उनी आफू नै पुरै दिन बैठकमा जाने गरेका छैनन् । शाह प्रदेशसभाका बैठकमा १९ दिन गयल भएका छन् ।

संसद् छल्नेमा बहालवाला र पूर्वमन्त्रीहरूको संख्या पनि धेरै छ । कर्णाली सरकारका कतिपय मन्त्रीहरू आफ्नो मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमको छलफल चलिरहँदासमेत बैठकमा भेटिँदैनन् । प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेत तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा अहिलेसम्म प्रदेशसभाका बैठकमा एक सय ४७ दिन उपस्थित भएका छन् । शर्माले ६८ दिन संसद्को बैठक छलेका छन् । प्रदेशसभा सदस्य सोशीला शाही एक सय ८७ दिन उपस्थित भएकी छन् । उनी कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक्ली सांसद हुन् । यस्तै, नेपाली कांग्रेसकी सांसद झोवा विक संसद्मा दुई सय पाँच दिन उपस्थित भएकी छन् । कांग्रेसकै प्रदेशसभा सदस्य अमृता शाही दुई सय आठ दिन उपस्थित छन् । शाही प्रदेशसभामा कांग्रेसकी सचेतकसमेत हुन् । एमालेकी प्रदेशसभा सदस्य मिनासिंह रखाल दुई सय चार दिन उपस्थित भएको संसद् सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सदस्यहरूले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । संसद्मा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू विमुख देखिन्छन् । कर्णालीका सांसदहरू जनजीविकाका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचनासमेत हुँदै आएको छ । आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएर सांसदहरू पार्टी गतिविधिमा नै बढी भुलिरहेको आरोप लाग्ने गरेको हो । संसद् बैठकमा उपस्थित हुनेको संख्याले पनि उक्त आरोपलाई बल पुग्छ । राजनीतिक विश्लेषक अर्जुन ऐडीले कर्णाली प्रदेशसभाका सदस्यहरूलाई जिम्मेवार बोध नभएको बताए । ‘बैठकमै उपस्थित नहुनेले संसद्को मर्म नबुझेको भान हुन्छ,’ उनी भन्छन्, ‘सांसदहरू नीतिगत छलफलभन्दा पनि विकासे कार्यकर्ताको रूपमा प्रस्तुत भइरहेका छन् ।’ यस्तो समस्या प्रदेशसभामा मात्रै नभएर संघीय संसद्मा पनि रहेको उनले जनाए । सांसदले जनताको प्रतिनिधिको काम गर्नुपर्नेमा जागिरे मानसिकता देखाउने गरेको उनको भनाइ छ ।

कर्णाली प्रदेशसभा सदस्यहरूले नीतिगत तथा अन्य संसद्का गतिविधिका बारेमा अध्ययन छलफल चलाएको समेत न्यून देखिन्छ । जनताको प्रतिनिधिको रूपमा प्रस्तुत नभइ सांसदहरू मन्त्री बन्न र जागिर खान चुनिएकोजस्तो देखिने गरेको राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन् । हाल कर्णाली प्रदेशसभामा ३४ जना प्रदेशसभा सदस्य छन् । उनीहरूले मासिक पारिश्रमिकलगायत अन्य सुविधाबाहेक संसद् बैठकमा सहभागी भएवापत पनि भत्ता पाउँछन् । प्रदेशसभा सचिवालयका अनुसार सदस्यहरूलाई दैनिक सात सय ५० भत्ता र पाँच सय रूपैयाँ यातायात खर्च उपलब्ध गराउने गरिएको छ ।

प्रकाशित मितिः   २२ भाद्र २०७९, बुधबार ०५:०५