उम्मेदवार सिफारिस धमाधम

सुर्खेत: आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार सिफारिसलाई तीव्रता दिएका छन् । मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि सुर्खेतमा पनि धमाधम उम्मेदवार सिफारिस भइरहेका हुन् । नेकपा (एमाले)का कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभाको उम्मेदवारको लागि सिफारिस भएका छन् । उनी प्रदेशसभा सदस्य उम्मेदवारमा प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन् । शनिवार बसेको प्रदेशसभा समन्वय कमिटीको बैठकले कँडेललाई सर्वसहमत उम्मेदवारमा सिफारिस गरेको हो । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेल यसपटक प्रतिनिधिसभामा जानसक्ने आकलन गरिएको थियो । यद्यपि कँडेलले प्रदेशसभामै जान रूचि देखाएपछि उनको विकल्पमा अन्य उम्मेदवारका आकांक्षीसमेत कोही नदेखिएको बताइएको छ । प्रदेशको मुख्यमन्त्री बन्नेगरी गएको निर्वाचनमा प्रदेशसभामा झरेका कँडेलले यसपालि पनि फेरि प्रदेश नै रोजेका हुन् । उनी एकल सिफारिस भएकाले अहिले पनि प्रदेशमै लड्ने निश्चितप्रायः देखिएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा भने कँडेलको मुख्यमन्त्री बन्ने धोको पूरा भएन । उनी अहिले कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेता छन् ।

त्यस्तै, शनिवारदेखि उम्मेदवार सिफारिस थालेको एमाले सुर्खेतले क्षेत्र नं. १ (क) मा ठम्मर विष्टलाई प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ । क्षेत्र नं. १ को (ख) मा खड्ग खत्री उम्मेदवार सिफारिस भएका छन् । एमालेबाट विष्ट र खत्री पनि एकल उम्मेदवारका रूपमा सिफारिस भएका हुन् । यी दुवै यसअघि पनि सोही निर्वाचन क्षेत्रहरूबाट प्रदेशसभामा निर्वाचित भएका थिए । एमाले सुर्खेतका अनुसार क्षेत्र नं. २ को (ख) मा भने आकांक्षीहरूबीच सहमति जुटिसकेको छैन । त्यहाँ पनि सकभर सर्वसम्मत उम्मेदवार सिफारिसको कसरत भइरहेको बताइएको छ । एमालेले आज (आइतवार)देखि दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम् मेदरवार सिफारिसका लागि बैठकहरू गर्दैछ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) सुर्खेले पनि उम्मेदवारको सिफारिस गर्ने कामलाई अगाडि बढाएको छ । जसअन्तर्गत शनिवार क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि झकबहादुर मल्ल (सुदीप) को नाम सिफारिस भएको छ । माओवादीका जिल्ला इञ्चार्ज एवम् केन्द्रीय सदस्य हुन् । प्रदेशसभाका लागि (ख) मा विन्दमान विष्ट, पञ्चा सिंह र गंगाराम विकको नाम सिफारिस गरिएको छ । तीन जनामध्ये विष्ट सम्भावित बलिया उम्मेदवार हुन् । २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित उनी कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् । यसपटक उनलाई मुख्यमन्त्रीको दावेदारका रूपमा समेत हेरिएको छ । माओवादी केन्द्रले क्षेत्र नं. १ (ख) बाट प्रदेशसभाका लागि कृष्णबहादुर जिसी (जितेन्द्र)को नाम सिफारिस गरेको छ । जिसी माओेवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष हुन् ।

प्रकाशित मितिः   १९ भाद्र २०७९, आईतवार ०५:०४