‘सीट बाँडफाँटमा सन्तुलन कायम गर्छौं’

सुर्खेत: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच सन्तुलन कायम गरेर सीट बाँडफाँट गरिने बताएका छन् । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न शुक्रवार वीरेन्द्रनगर आएका प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै सीट बाँडफाँटबारे सहमति नजिक पुगेको जनाए । ‘प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको छ, कुन–कुन प्रदेश र कुन–कुन क्षेत्र कसले पाउने भन्ने एकैचोटी टुंग्याउने कुरा छ,’ उनले भने । अहिले गठबन्धनभित्रका दलबीच संघको सीट एउटाले लिएमा प्रदेशको अर्कोलाई दिएर भोट ट्रान्सफर हुने वातावरण बनाउन लागिएको पनि उनले बताए । उनका अनुसार एक सय ६५ निर्वाचन क्षेत्रका प्रदेशका सीटलाई सन्तुलन मिलाएर जाने गरी तयारी गरिएको छ । अध्यक्ष प्रचण्डले हालसम्म गठबन्धनभित्र कुनै पनि असहमति नभएको समेत दाबी गरे । उनले भने, ‘बरु गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दलहरूबीच छलफल भइरहेको छ ।’ एक्लै जित्ने प्रभाव भएका ठाउँहरूमा पनि गठबन्धनभित्रका अन्य पार्टीलाई समायोजन गरेर लिने कुरामा आफूहरूले जोड दिएको प्रचण्डले बताए । ‘यसले मात्र परिणाम राम्रो ल्याउन सकिन्छ भन्ने टुँगोमा पुगेका छौं,’ उनले भने । कर्णालीमा माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनाउने स्थिति ल्याइने समेत उनले बताए । गएको संसदीय निर्वाचनमा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही कुरा छुटेकोले अबको गठबन्धनमा सन्तुलन मिलाएर अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   १८ भाद्र २०७९, शनिबार ०५:०१