यात्रा संस्मरण

मायादेवी मन्दिरमा आस्था बिसाउँदा

भागः १

केही महिनादेखि शान्तिका दूत भगवान गौतम बुद्धको २५६६औं जन्मजयन्तीको अवसर पारेर लुम्बिनी घुम्न पाए हुन्थ्यो लागिरहेको थियो । लुम्बिनी पुगेर बुद्धलाई जन्मदिने माता मायादेवी मन्दिरलाई नमन चढाउन मन थियो ।

यसअघि २०६३ सालमा लुम्बिनी अवलोकन यात्रा गर्दा मायादेवी मन्दिर पुनर्निर्माण हु“दै थियो । त्यस्तै विभिन्न देशले बौद्ध गुम्बाहरू निर्माण गरिरहेका थिए । यस पटक त ती सबै निर्माण भइसके होलान् । यही छेक पारेर जान पाए हुन्थ्यो भन्ने प्रवल इच्छाले घचघच्याइरहेको थियो ।

देश चुनावमय भएको थियो । स्थानीय तहको निर्वाचनले राजनीतिक माहोल तातिएको थियो । हाम्रो सिम्ताको वडा नं. १ स्थित गान्द्रा मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिँदा विवाद उत्पन्न भएको थियो । जसका कारण मतदात रोकिएर पुनः मतदान गर्नुपर्ने भएको थियो । त्यसैले पालिकाको विजयी नतिजा आउन बाँकी नै थियो ।

विश्वका महान आत्मा भएका विदूषी मानवले शान्ती सुव्यवस्थाको लागि महान उपदेश र कार्यको पछाडि मानव शान्ति किन अनुशरण गरिरहन्छ ? मैले पनि तिनै महान आत्माको पद चिन्ह पछ्याउँदै केही सन्देश यो घरामा छोडेर जान सक्छु कि भन्ने चाहनाले प्रतिष्ठित लुम्बिनी यात्रा गर्ने योजना बनाएको थियो । मेरो यात्रा घुमघामका लागि मात्रै नभएर यात्रा साहित्य सिर्जनाका लागि पनि थियो ।

साल २०७९ । वैशाखको अन्तिम दिन, ३१ गते । प्रकृतिलाई उपहारमा बहार दिएर बसन्त ऋतु बिदा हुँदै थियो । मेरो सिम्ताको पहाडी बस्तीमा शीतलता बोकेर आएको मन्द वायु नाचिरहेको थियो ।

बस्तीछेउको जंगलबाट एकाबिहानै चराहरूको सुरिलो स्वर मलाई ब्यूँझाउन आइपुगे । चराचुरुंगीहरूको चिविरसँगै शीतल हावाका झोकाहरूले हान्दा मनमा उन्मादी उमङ्ग छाएको थियो, फुरुङ्ग भएको थियो ।

टाउको माथि कोटको थुम्को, थुम्कोमाथिको कोटेश्वर महादेव मन्दिरमा घामले खुट्टा पसार्दा मनमोहक बनेको थियो, दृष्य । अघिल्लो दिनको वर्षात्ले तल भेरी नदीमा रातो भल उल्र्लेको दृष्य पनि उस्तै सुन्दर देखिएको थियो ।

गाउ“को बीचमा सिमलका ठूलाठूला रुख, मुन्तिर जलवादेवी थान (मन्दिर), उत्तरतिर चाँदी जस्ता हिमाली श्रृंखला, त्यसको काखैमा बसेझै देखिने पहाडी बस्ती र हरियाली जंगल मन त्यसै लोभिन्थ्यो । लाग्थ्यो, साँच्चै म भू–स्वर्गमा छु ।

चारैतिरको मनोरम दृष्य नियालेर स्वरैकल्पनामा डुबिरहँदा माथि देउलीबाट पिकअप जिप आइपुग्यो । मेरो लुम्बिनी यात्राको सुरुवात त्यही जीपमार्फत हुँदै थियो । एक पटक जन्मभूमि, जन्मदिने आमा कस्तुरीलाई सम्झी यात्रा सफल गरिदेउ है भनी नमन गरेर जिपमा बसेँ ।

जिपको यात्रा सिम्ताको मुख्यबजार जामुनेसम्मको थियो । जामुनेबाट भने बस चढेर वीरेन्द्रनगरतिर लागेँ ।

यात्रामा किताब पढ्ने बानी छ । समय बेतित पनि हुन्, अध्ययन पनि हुने । भारत रत्नबाट पुरस्कृत डा. भीम राव अम्वेडकरको जीवनी लेखिएको पुस्तक साथमै लगेको थिएँ । बस यात्राको साथी त्यही पुस्तक भयो । आफ्नो जीवनकालभर दलित समुदायको हितको लागि लड्नेवाला भारतीय संविधान निर्माता एवम् स्वतन्त्र भारतका प्रथम विधि मन्त्रीको कृतित्व पढ्दै गर्दा जामुनेबाट छिन्चु पुगेको पत्तै भएन ।

बसका अन्य यात्रुहरू छिन्चुमा उत्रिएर खाना खान थाले । म भने हाम्रो सिम्ता लापुकी गंगामाला देउती बज्यैको मन्दिरको आँगनमा पुगेर नमन गरी फर्किएँ ।

वीरेन्द्रनगर पुग्दा दिनको दुई बजिसकेको थियो । लुम्बिनी यात्रा गर्ने रहर भएका खगेश्वर गौतम र ललितनाथ योगीलाई भेटेँ । तर उहाँहरू दुवै जनाले आफ्नो व्यस्तता जनाएर यस पटक यात्रा गर्न नसक्ने बताउनुभयो ।

मलाई भने यात्रा गर्नु नै थियो । भोलिपल्ट हिँड्नु थियो, लुम्बिनीतिर । बिहान सबेरै उठेँ । सामान्य व्यायाम र स्नान मेरो नियमित कर्म भइहाले । होटलतिरको खाना बुढेसकालको शरीरका लागि स्वास्थ्यवद्र्धक हुँदैनन्, त्यसैले गाडी चढ्नुअघि नै खिचडी बनाएर खाएँ ।

आफैले लेखेका केही थान पुस्तक झोलामा राखेँ, यात्रा खर्च जोहो गर्न काम लाग्न सक्छन् भनेर । किताब बेचेरै पनि खर्च जोहो गर्न सकिन्छ । यायावर लेखकको पूँजी भन्नु उसका सिर्जना नै त हुन् । प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘मेरो घरको वरण्डाबाट देखिने लुम्बिनी–काँक्रेविहार’ भनेर लेखेको सम्झदै यात्रा सकुसल पारीदिन काँक्रेविहारसामू मनोकांक्षा चढाएँ ।

घरछेउको तिनकुने चोकबाट म नेपालगन्जको बस चढ्दा बिहानको ९ बजेको थियो । बसभरी यात्रु थिए । एक नजर सबैलाई नियालेँ । अधिकांश यात्रु श्रम पोख्न भारत जान हिँडेका थिए । त्यसो त उनीहरू केही दिनअघि मात्रै आफ्नै मतले जितेका जनप्रतिनिधिले स्वदेशमै रोजगारीको व्यवस्था गर्लान् भनि सपना बोकेर स्थानीय निर्वाचनमा मतदान गर्न आएका थिए, भारतबाटै । र, मतदान सकेर फेरि फर्किदै थिए भारततिरै ।

अचेल यात्रा पनि महँगिदै गएको छ । यातायात व्यवसायीले बस भाडा दिनप्रति दिन बढाउँदै लगेका छन् । सरकारी लगानीमा सार्वजनिक सवारी साधन सञ्चालन हुन सके कति सहज हुने थियो । तर राज्यका तिनै तहले एउटा बससम्म सञ्चालन गर्न सकेका छैनन्, सोचेका छैनन् । ७० वर्षे वृद्ध हु“दासम्म भाडामा सामान्य सहुलियत छैन । वृद्ध सीट लेखिएको हुन्छ, त्यो सीटमा युवा बसेको हुन्छ । वृद्धका लागि छोड्दैन । त्यसमाथि मापदण्ड मिचेर यात्रु राखिएको हुन्छ । निजी यातायात व्यवसायीहरूले मनपरी भाडा बढाए पनि राज्य भने टुलुटुलु हेरेर बस्छ । हुन त बस व्यवसायीहरू पनि पहुँचवाला छन् । कोही मन्त्रीका छन्, कोही सांसदका । तिनकै अकुत सम्पत्तिको लगानीमा निर्वाचित भएका हुन्छन् । अनि किन बोल्थे ?

मेरो देशमा कहिले राज्यले बस चलाउँला ? रेल र जहाज चलाउँला ? र वृद्ध तथा अपाङ्गता भएका नागरिकले सहज र सहुलियतमा यात्रा गर्न पाउँलान् ? अन्तिम सिटमा अटसमटस बसेर यस्तै सोच्दै छिन्चु पुगियो । गाडीवालालाई बस्न असजिलो भयो भनी भन्ने हो भने मार्ला जस्तो दादागिरी देखाउँछन् । चेकपोष्टमा पनि प्रहरी र ट्राफिकले राम्रो चेकजाँच गर्दैनन् ।

छिमेकी भारतको गाउँ–शहरका लामो रुटमा सरकारी बस तथा रेल सञ्चालन गरिएको छ । अचानक बाटोमा टिकट लिएका–नलिएका, भाडा बढी लिएर यात्रु बसालेको इन्क्वाइरी गरिन्छ । सरकारी होस् या निजी बसमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई छुट्टाछुट्टै सीटको व्यवस्था हुन्छ । टिकट पनि अटोमेटिक मेसिनले दिने गर्छन् । मेरो देशमा त अलि बलियाबाँगा युवाहरू छानेर टिकट दिने र कमिसन असुल्ने बनाएर राखिएका हुन्छन् । मेरो देशका राज्य चलाउने शासन गर्ने पार्टीहरू यातायात व्यवस्थित गर्नुभन्दा दलाल पुँजीपतिहरूबाट कमिसन हसुर्छन् । उदार पुँजीवादी मुलुकहरूमा पनि यस्तो लथालिङ्ग छैन । प्रजातन्त्र आएको जनमतबाट विजयी भएर सत्तामा जान लागेको ३२ वर्ष भइसक्यो । २७ वटा सरकार बदल्ने क्रियामा तल्लिन भए । एकले अर्काको खुट्टा तान्ने सत्तामा जाने समान्ती संस्कार कहिले जाला ? मनमा कुरा खेलाउँदै हर्रेको सैनिक चेक पोष्ट पुगियो ।

त्यहा“बाट पनि हाम्रो बस अगाडि बढ्यो । सडक दायाँबायाँका जंगल आगोले खाएर कालै भएका थिए । यही निकुञ्जलाई सुरक्षा गर्न वनरक्षक पोष्ट जंगलका ठाउ“ठाउँमा राखिएको छ । चिसापानी व्यारेकमा वनरक्षक दल बसेको छ । तर आगो नियन्त्रणमा ध्यान पुगेको छैन । यो आगोले कति बहुमूल्य रुखहरू, जडिबुटीसहित जंगली जनावर जलेर खरानी भए होलान् ।

पञ्चायतकालमा यो जंगलका बँदेल मारेर हवाइजहाजमा काठमाडौंका ठूलावडा र दरबारसम्म तस्करी हुन्थ्यो रे । के अहिले पनि त्यही रित होला ? हाम्रो नेपालमा अधिकारको कार्यान्वयन र कर्तव्यको पालना कहिले होला ? के सेना भनेको राज्यका ठूलावडाको रक्षा चाकरी गर्ने तथा शान्तिसेना जाने र अलिकति धन कमाउने मात्रै हो ? सँगैका यात्रीसँग यस्ता यावत गफ गर्दागर्दै कोहलपुर पुगियो ।

काठमाडौं जाने बस तयार भएर बसेको रहेछ । म त्यही बसमा गएर बसेँ । मधेशमा धपक्क तातो बलेको थियो । हिजो सिम्ता घरमा हाते रुमाल छुटेछ । आज वीरेन्द्रनगर घरमा मखलर ल्याउँला भन्ने मन बनाए पनि हिँड्दा भुसुक्क बिर्सेछु । यो वर्ष ७० लाग्दा भुल्ने क्रिया बढेको छ । खलखली पसिना आएपछि पो सम्झिएँ ।

यात्राको समय बिताउनु थियो, सँगै गर्मीको अत्यास हटाउनु थियो । म उनै डा. भिम राव अम्वेडकरको जीवनी पुनः पढ्न थालेँ । अम्बेडकरले भारत स्वतन्त्र भएदेखि संविधान लेखे । दलित मुक्तिका लागि लडेर मनुस्मृति समेत जलाएछन् । तापनि स्वतन्त्र भारतमा छुवाछुतमुक्त गराउन नसकेपछि बौद्धधर्म अङ्गिकार गर्न पुगेको कुरा उलेख गरेको पाएँ । मलाई पनि के लाग्छ भने लामो समय धर्म, संस्कृति, संस्कार बस्यो भने त्यो छोड्न मानव समाजलाई धेरै कठिनाइँ हुँदो रहेछ । महापण्डित राहुल साँस्कृत्यापनले मानव समानता र समाजवादी राज्यको कल्पना गरी अन्तरजातीय बिहान गरे । समाज र राज्य परिवर्तनको लागि थुप्रै पुस्तक सिर्जना गरे । अन्त्यमा “दिमाखी गुलामी” पुस्तक लेख्न पुगेका छन् । अहिलेसम्म पनि विशाल भारतका कैयौं प्रान्तहरूमा छुवाछुतले घर गरेको पाइन्छ । हाम्रै नेपाली समाज पनि त्यसबाट पर छैन । पढ्दै, सोच्दै अघि बढ्दा दाङ पुगिएछ ।

कोहलपुरबाट हिँडेको बसले राति नौ बजे बुटवल बसपार्क लिएर ओराल्यो । बसपार्क नजिकै लक्ष्मी अन्नपूर्ण होटल छ । गतवर्ष मात्र बुटवलको जितगढी अवलोकन गर्न आएको बेला त्यहाँ बसेको थिएँ । यस पटक पनि त्यही होटल मेरो बासस्थान बन्यो ।

बिहान पाँच बजे उठेर हेर्दा बुटवल बजार विस्तारै चलमलाउन थालेको थियो । म भने माइक्रोबस चढेर भैरहवातिर लागेँ । भैरहवाको बुद्धचोक पुग्दा सात बजेको थियो । त्यही चोकबाट साहित्यकार तथा लोकवार्ताकार कपिल लामिछानेलाई फोन गरेर बोलाएँ । एकछिनमा उहाँ आइपुग्नुभयो । उहाँले साहित्यकार कविता पौडेलका “उज्यालो आश्रम” पुस्तक उपहार दिनु भयो । त्यहाँबाट स्कुटर चढाएर उहाँले मलाई साहित्यकार बुँद रानाको घर लैजानुभयो । रानासँग नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नै परिचय भएको थियो । रानासँग केहीबेर कफीगफ चल्यो ।

मलाई बिहानै लुम्बिनी माता मायादेवी मन्दिर दर्शन गर्न मन थियो । बुद्धचोकबाट माइक्रो बस चढेर त्यता लागेँ । सँगै सीटमा बुटवल उपमहानगरपालिका–२ निवासी निवृत्त शिक्षक चैतन्यदेव भट्टराई (७६) भेटिनुभयो । उहाँले धार्मिक भजन गाएर सुनाउनुभयो ।

शिवपुरी लेकै मन्दिर, बुढानिलकण्ठ मन्दिर । चारैतिर पहेलपुर धान पाकेको । पारिजात फूलेर वातावरण मगमग र मनमोहक बनाएको ।

हाम्रो बस लुम्बिनी गेटमा पुग्ने त्यही समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २५६६औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी माता मायादेवी मन्दिर पूजापाठ गर्न आउने र उनलाई स्वागत गर्न हाम्रो प्रधानमन्त्री पनि आउने कार्यक्रम रहेछ । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले लगायत पनि दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल उद्घाटन गर्न सोही दिन पुगेका रहेछन् । हाम्रो बसलाई एक किलोमिटर वर रोकेर अघि बढ्न दिएनन् । चारैतिर नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको बाक्लो सुरक्षा घेरा थियो ।

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी जनकपुरको जानकी मन्दिर दर्शन गर्न आएका थिए । त्यहाँ सम्बोधन गर्दा मोदीले ‘नेपाल र भारतको रोटी–वेटीको सम्बन्ध छ, पानी और जवानी कोही रोक नही सक्ता’ भनेका थिए । उनले नेपालका युवा लाहुरे हुनदेखि श्रम गर्न भारतमै जाने र नेपालबाट बगेर जाने पानी पनि रोक्न सकिदैन भनेर व्यङ्ग्य गरेका थिए । त्यही भ्रमणको छेकमा लुम्बिनी पुगेर गौतम बुद्धको जन्म नेपालमा भएको हो भनि स्वीकारेका थिए । त्यसअघि भने वर्षौंवर्ष लगाएर भारतीय भूमिमा सिद्धार्थनगर बसाली त्यही नै बुद्धको जन्मस्थल हो भनी प्रचार प्रसार गर्न धर्मभिरु राज्य नै लागेको थियो । मैले यसअघि २०६३ सालमा पनि लुम्बिनी यात्रा गरेको थिएँ । त्यतिबेला नियात्रा ‘हिमालदेखि सागरसम्म’मा गौतम बुद्ध लुम्बिनीमै जन्मिएका हुन्, यसलाई प्रचारप्रसार गरौं भनि लेखेको थिएँ ।

मोदीले पूजापाठ गर्दासम्म हामीले बसमै बस्नुपर्‍यो । दुई घण्टा लामो समय बसमै बित्यो । मैले बसका यात्रुहरूसँग राष्ट्रियता झल्काउन नेपाली टोपी लगाएर भारतका विभिन्न प्रान्तको यात्रामा जाँदा भारतीयहरूले ‘बहादुर कुच काम करेगा ? खाली क्यू घुम रहे हो, काम करो, कमाके खाओ, और अपनी देशमे कमाके देखो लेओ’ भन्दा यही टोपी रहेछ काम गर्र्ने पहिचान भनि टोपी झिकेर झोलामा राखेको र त्यसपछि मलाई ‘बहादुर काम करेगा ?’ भनि नसोधेको प्रसङ्ग सुनाए । सबैले चासोका साथ सुने ।

बसमा खाली समय बिताउँदा मेरो प्रकाशित पुस्तक “सहिदको सपना” बाट ‘मैले भिख माग्न हुँदैन’, ‘आमा नजन्माऊ’ कविता पाठ गरेर सुनाएँ ।

(यात्राको बाँकी श्रृंखला अर्को साता प्रकाशित हुनेछ ।)

प्रकाशित मितिः   १८ भाद्र २०७९, शनिबार ०५:०४