निर्वाचनमा होमिए राजनीतिक दल

उम्मेदवार सिफारिसमा पहुँचवाला नेताको सिन्डिकेट

सुर्खेत: राजनीतिक दलहरू आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारीमा जुटेका छन् । एकैचरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूलाई अहिले उम्मेदवार सिफारिसको चटारो छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले चुनावी कार्यतालिका बनाएर पार्टी गतिविधिलाई तीव्रता दिएका हुन् । दलहरू उम्मेदवार सिफारिस र कार्यकर्ता प्रशिक्षणलगायतमा व्यस्त छन् । पार्टी केन्द्रको निर्देशनअनुसार निर्वाचन क्षेत्रहरूमा उम्मेदवार सिफारिसका काम धमाधम अघि बढाइएको छ । उम्मेदवार सिफारिसमा पहुँचवाला नेताहरूको नाम भने एकल रूपमा सिफारिस भएको छ । पार्टीका अन्य आकांक्षीलाई पन्छाएर दलहरूले केही नेतालाई सर्वसम्मत उम्मेदवार सिफारिस गराएका हुन् । त्यति मात्र नभइ एकै व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभाको उम्मेदवारका लागि समेत सिफारिस गरिएको छ, त्योपनि एकल उम्मेदवारका रूपमा । उम्मेदवार सिफारिसमै सिण्डिकेट भएको भन्दै कतिपय आकांक्षीहरूले असन्तुष्टि जनाएका छन् । कर्णालीमा संसदीय निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस हुनेमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का नेता धेरै देखिएका छन् ।

प्रदेशमा उम्मेदवार सिफारिसमा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा अगाडि देखिएको छ । उक्त पार्टीले कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिसको काम सकेको हो । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिसको काम सकिएको जनाए । एकीकृत समाजवादीले राजनीतिमा स्थापित र चर्चित अनुहारहरूलाई उम्मेदवारका लागि सिफारिस गरेको उनको दाबी छ । समाजवादीले पार्टी उपमहासचिव प्रकाश ज्वालालाई सल्यानबाट प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुन् । उनले एमाले विभाजन भइ बनेको एकीकृत समाजवादी रोजेका थिए । सल्यानमा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्र छन् । यस्तै, समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदार सिफारिस गरिएको छ । समाजवादीका सुर्खेत अध्यक्ष बडुवाल निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस भएका छन् । थापा र बडुवाल पनि समाजवादीका निर्वाचन क्षेत्र कमिटीहरूले एकल उम्मेदवारका रूपमा अघि बढाएका हुन् ।

नेपाली कांग्रेसले उम्मेदवार सिफारिसलाई तीव्रता दिएको छ । प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेसले पनि उम्मेदवार सिफारिस गरिसकेको छ । सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का सर्वसम्मत चयन भएका छन् । कांग्रेसबाट उक्त निर्वाचन क्षेत्रमा खड्का प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएका हुन् । कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले क्षेत्र नं. १ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिसको काम टँुगिएको बताए । क्षेत्र नं. २ मा उम्मेदवार सिफारिसका लागि आकांक्षीहरूबीच छलफल जारी रहेको उनको भनाइ छ । कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पनि हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका केही अन्य दलहरूले चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । गठबन्धन दलमा सीट बाँडफाँटको टँुगो भने लागि सकेको छैन । प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा कांग्रेसलाई जुन क्षेत्र भाग परेपनि शाही नै उम्मेदवार बन्ने पक्का भएको हो । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका सबै निर्वाचन क्षेत्रबाट शनिवारसम्म उम्मेदवारहरूको सिफारिस भएर आइसक्ने जनाए । ‘धेरैजसो निर्वाचन क्षेत्रबाट सिफारिस आइसकेका छन्,’ उनले भने, ‘बाँकी रहेका क्षेत्रमा शनिवारसम्म सिफारिस पठाउन भनिएको छ ।’ कांग्रेसमा प्रतिनिधिसभाको सम्बन्धित क्षेत्रीय कार्यसमिति र प्रदेशसभाको लागि प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले माथिल्ला समितिमा उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ । ती सिफारिस जिल्ला र प्रदेश हुँदै केन्द्रमा पुग्ने र केन्द्रबाट अन्तिम टुँगो लाग्ने कांग्रेस नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रले पनि भदौ २५ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्ने तयारी गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसीले उम्मेदवारहरूको सिफारिसका काम अब थालिने बताए । निर्वाचनमा गठबन्धन दलहरूले चुनावी तालमेल गर्नेगरी तयारी गरे पनि अहिले भने छुट्टाछुट्टै उम्मेदवारहरूको सिफारिस तथा छनोट गरिएको छ ।

हालको सत्तारुढ गठन्धनसँग संसदीय निर्वाचन पनि एक्लै भिड्ने तयारी गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने उम्मेदवार सिफारिस गरिसकेको छैन । एमाले केन्द्रीय कमिटीले यही भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले शुक्रवारदेखि सिफारिसको काम सुरु भएको भन्दै २२ गतेसम्म सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाइसकिने बताए । ‘केन्द्रीय कमिटीले दिएको समयभित्रै उम्मेदवारहरूको सिफारिस गरिसक्ने तयारी छ,’ उनले भने, ‘हामी त्यसका लागि जुटिरहेका छौँ, निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेशमा आएका सिफारिस केन्द्रमा पठाइनेछ ।’ सुर्खेतमा पनि एमालेले सिफारिसका लागि बैठकको तयारी गरेको छ । एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार १८ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीको बैठक र १९ गते प्रतिनिधिसभा क्षेत्रीय कमिटीको बैठक बस्नेछन् । त्यस्तै, जिल्ला कमिटीको बैठक २० गते डाँकिएको छ । ती बैठकहरूबाट उम्मेदवार सिफारिस हुनेछन् ।

प्रकाशित मितिः   १८ भाद्र २०७९, शनिबार ०५:१०