अन्धविश्वासको जगमा बनाइएका ‘छाउघर’
‘छाउ’ र मेरो सम्बन्ध अन्योन्याश्रित छ, सबै महिलाहरूको जस्तै । ऊ मलाई पछ्याइरहन्छ, म उसलाई । तर हाम्रो यो सम्बन्धबीच विभेदको ठूलो खाडल छ, जसले प्रत्येक महिनाका सात दिन मलाई घरबाट टाढा पु¥याउँछ । रजस्वलाको समयमा म आफ्नै घरभित्र बस्न पाउँदिन, अलग्गै बस्नुपर्छ । यस्तो किन ? मैले अहिलेसम्म बुझ्न सकेकी छैन । आमालाई सोध्दा ‘मेरी आमाले छुई बारेको देखेर बार्ने गरेको’ भन्नुहुन्छ । मेरी आमाले पनि आफ्नी आमाबाट यस्तै जवाफ पाउनु भएको थियो रे ।
छाउ नबार्दा के बेफाइदा हुन्छ ? वा बारेर के फाइदा हुने हो ? अहिलेसम्म मैले यसको सहि जवाफ पाउन सकेको छैन । यसको जवाफ न आमाले दिनुभयो न त अरु जान्नेमान्ने कसैले दिन सकेका छन् । म आफैले दोधारै–दोधारमा छाउ बार्ने चलनलाई अङगाल्दै आएँ । समाजको अगाडी म मुख खोलेरै ‘छुई बार्दिनँ’ भन्छु । तर म आफनो मनलाई कसरी ढाँट्न सक्छु र !
छाउ बार्न लगाउने परिवार देख्छु । यसलाई सहर्ष स्वीकार्ने समाज हेर्छु अनि छाउ बार्नु पनि नारीले पाएको ‘बरदान’ पो हो कि जस्तो लाग्छ । किनभने घर, परिवार र समाजले नै यसलाई संस्कार मानेको छ, रुचाएको छ । आफूलाई शिक्षित र परिवर्तनशील देखाउन एकचोटी बहिस्कार गर्छ । फेरि पछाडि फर्किन्छ र त्यसैलाई अंगालिहाल्छ । तर आफ्नो दोषि चस्मा बदल्न चाहँदैन । हाम्रो समाजले यस्तो दोषि चस्मा लगाएको छ, जसले सहि–गलत छुट्याउन सकेन । गलतलाई सहि र सहिलाई सधँै गलत साबित गरिरह्यो ।
म जस्ता कैयौं छोरी छाउगोठमै मृत्युवरण गर्न बाध्य भए । कोही बलात्कृत हुन पुगे । तर समाजलाई छोरीहरू बलात्कृत हुनु र मृत्यु हुनु ठूलो कुरा लागेन, बरु दोषि चस्माले देखिने कुसंस्कारलाई संस्कारका नाममा अंगालीरह्यो । छाउगोठमा महिला बलात्कृत भएका घटना रोकिएका छैनन् । मृत्यु हुने श्रृंखला रोकिएको छैन । जबसम्म यो समाजले आफ्नो दोषी चस्मा फेर्ने छैन, तबसम्म लाखौँ छोरी–बुहारीले यस्तो भोगिरहने छन् ।
समाचार संकलनका लागि म पश्चिम सुर्खेतको पञ्चपुरीमा पुगेकी थिएँ । त्यहाँ केही समय पहिले प्रशासनको सहयोगमा छाउगोठ भत्काउने अभियान चलाइएको थियो । छाउगोठमुक्त बनाइएको समाचार आएका थिए । तर म त्यतिबेला छक्क परेँ, जब घरैपिच्छे छाउगोठ देखिए ।
अझ अनौठो त के छ भने प्रहरी–प्रशासनले भत्काएका छाउगोठ महिलाहरू आफैले धमाधम पुन निर्माण गरेका रहेछन् । मैले केही महिलाहरूसँग यसबारेमा कुरा गरेँ । उनीहरूले यो आफ्नो रहर नभएर बाध्यता भएको बताए । घरबाहिरै बस्नुपर्ने भएपछि झन असुरक्षित भएर पुनःछाउगोठ बनाइएको उनीहरूको भनाई थियो ।
प्रहरीले छाउगोठ भत्काएको केही समयसम्म महिनावारी भएका केही महिलाहरू घरभित्र छिर्न पाएछन् । उनीहरूले घरकै एउटा कोठा प्रयोग गर्न पाए । कोही भने बाहिर पेटीमै सुत्नुपर्ने भएछ । प्रहरी–प्रशासनकै डरले भएपनि केही सुधार भएको थियो । तर पछिल्लो समय पुनः छाउगोठ बनाइए । महिलाहरू महिनावारी बार्न छाउगोठमै बस्न थालेका छन् । युवा समूहकी अध्यक्ष समेत रहेकी पञ्चपुरी–२ की संगीता विकले पछिल्लो समय पहिलेजस्तै छाउ बार्ने र गोठमा बस्ने गरिएको बताइन् ।
अहिले पञ्चपुुरीका अधिकांश घरनजिकै छाउगोठ भेटिन्छन् । महिनावारी भएका महिलाहरू त्यही गोठमा बस्छन् । गोठको बास सुरक्षित हुँदैन । गोठ पनि व्यवस्थित बनाइएका छैनन् । त्यस्ता गोठमा बस्दा स्वास्थ्य समस्या त हुन्छ नै, साथमा जंगलछेउमा हुने हुँदा जंगली जनावरको समेत उत्तिकै डर हुने महिलाहरू बताउँछन् । त्यसमाथि विगतमा गाउँमा भएका बलात्कारका घटनाले पनि छाउगोठमा बस्ने महिलाहरूलाई पिरोल्ने गर्दछ । संगीता भन्छिन, ‘हाम्रै टोलमा पनि यस्ता घटना भएका छन् । प्रायः यस्ता घटनाको मेलमिलाप गाउँघरमै हुुन्छ । जसले गर्दा पटक–पटक घटना दोहोरिन्छन् ।’
महिनावारी भएका महिलाहरू घरभित्र बसे अनिष्ट हुने अन्धविश्वासले मानिसहरूमा गहिरो छाप छोडेको छ । अविवाहित अवस्थाका महिलाको महिनावारी (छुई) डाइलो हुने अन्धविश्वासले चिउरीखेतका धामी झाँक्रीदेखि अन्य पेसा व्यवसायका अगुवालाई समेत गाँजेको छ । त्यसैले अविवाहित किशोरी तथा युवतीहरू रजस्वला हुँदा विवाहित महिलालाई भन्दा बढी दिन बार्न लगाइन्छ ।
महिनावारी बार्ने गरेका घरहरूमा लच्छिन हुुने, सोचेको पुुग्ने र अप्रिय घटना नहुुने विश्वास अहिले पनि ब्यापक छ । पञ्चपुुरी नगरपालिका–२ चिउरीखेतका ५५ वर्षीय नरबहादुुर विक भन्दैथिए, ‘देवताले नमानेपछि फेरि छाउ बार्ने टहरा बनाउन बाध्य भयौँ ।’
त्यसो त कतिपय महिलाहरूलाई पनि महिनावारीमा घरभन्दा टाढै बस्नुपर्छ भन्ने लाग्छ । यसरी छाउ नबारे पाप लाग्ने अन्धविश्वासमा उनीहरू छन् । बारीछेउको छाउघरमा भेटिएकी शान्ति भण्डारी देवता रिसाउने डरले घरबाहिर बस्नुुपरेको बताउँछिन् । ‘बाहिर बस्नुपर्दा डर त लाग्छ नी,’ उनले भनिन्, ‘हाम्रोतिर चलन नै यस्तै छ । घरभित्र बसौँ देवता सहन्नन् ।’ शान्तिले रजस्वला पाप नभइ महिलाको नियमित चक्र भएको बुझेपनि समाजले कुुरा काट्ने डरले आफू अलग्गै बसेर महिनावारी बार्नुपर्ने बाध्यतामा रहेको जनाइन् ।
मानिसहरूमा कतिसम्म भ्रम छ भने रजस्वला भएका बेला दही दुध खाए देउता बिग्रिएर गाइभैसी रुख चढ्छन् भन्ने ठान्छन् । त्यसैले महिनावारी भएका बेला महिलाले दही दुुधसमेत खाँदैनन् । अन्य कारणले कुनै समस्या देखिएपनि महिनावारी भएका महिलाहरूकै कारण भएको हो कि भन्ने सोच्ने गरिन्छ । यतिसम्म अन्धविश्वासले गाँजेको समाजलाई केही समय बल प्रयोग गरेर गोठ भत्काउँदैमा सुधार गर्न सम्भव छैन । जरा गाडेको प्रथा हटाउन सजिलो काम पनि होइन । भयो पनि त्यस्तै । स्थानीयको सोेच परिवर्तन नहुँदा पञ्चपुरीमा भत्काइएका गोठ फेरि धमाधम बनाउन थालिए । त्यसैले यसलाई हटाउन सबैभन्दा पहिले मानिसहरूमा डेरा जमाएर बसेको अन्धविस्वास भत्काउनुपर्छ । मनको डर हटाउनुपर्छ । छाउ(रजस्वला) र महिलाहरूको अन्योन्याश्रित सम्बन्धबीचको खाडल पुर्नपर्छ । यो एक प्राकृतिक प्रक्रिया मात्रै हो भन्ने कुराको बोध सबैमा हुन सकेमा मात्र छाउगोठमुक्त समाज निर्माण हुनसक्दछ ।
प्रकाशित मितिः १८ भाद्र २०७९, शनिबार ०५:०८
रजनी याेगी ।