दोस्रो कर्णाली गोल्ड कप हुँदै

सुर्खेत: कर्णाली प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता कालीकोटमा आयोजना गरिने भएको छ । स्थानीय लिगांसैनी युथ क्लबको आयोजनामा दोस्रो कर्णाली गोल्डकप अन्तर्गत प्रदेशस्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको हो । भदौ १० ‐आज) देखि प्रतियोगिता सुरू हुने आयोजक क्लबका अध्यक्ष हिक्मतजंग मल्लले जनाए । ‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्रतियोगिता कालीकोटको जिल्ला समन्वय समितिको खुला मञ्चमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई दुई लाख २२ हजार दुई सय २२ रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, दोस्रो हुने समूहलाई एक लाख ११ हजार एक सय ११ रूपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । आयोजक क्लबका अनुसार नगद पुरस्कारसहित खेलाडीलाई ट्रफी र मेडल पनि प्रदान गरिने छ । क्लबका अध्यक्ष मल्लले आयोजक समूहबाट खेल्ने खेलाडीलाई दैनिक पारिश्रमिकको घोषणासमेत गरिएको जानकारी दिए । स्टाइकरलाई दैनिक तीन हजार तथा मिडफिल्डर र डिफेन्डरलाई दैनिक दुई हजार पाँच सय रूपैयाँ पारिश्रमिक तोकिएको छ ।

भदौ १३ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीका १० वटै जिल्लाका खेलकुद क्लब तथा स्थानीय तहले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूको समूह दर्ताका काम भइरहेको छ । खेलाडीहरू कर्णाली प्रदेशभित्रकै हुनुपर्ने शर्त राखिएको छ । आयोजक क्लबले यसअघि २०७६ सालमा प्रथम कर्णाली गोल्डकप कालीकोटमै सञ्चालन गरेको थियो ।

प्रकाशित मितिः   १० भाद्र २०७९, शुक्रबार ०५:००