थ्रीजी भन्दा महँगो फोर-जी

विश्वबजारमा सन् २०१० बाट चौथो पुस्ता प्रविधि (फोर जी) सेवा सुरु भए पनि नेपालमा आजबाट औपचारिक रुपमा सुरु हुँदै छ। नेपाल टेलिकमले आइतबारबाट काठमाडौं र पोखरामा फोर जी सेवा सुरु गर्न लागेको हो। फोर जी आधुनिक र विकसित ताररहीत सुविधा भएकाले इन्टरनेटको गति पनि बढी हुने नेपाल टेलिकममा सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए।

 फोरजी सेवा लिएर हटस्पटका रूपमा एक्सेस गराई घरमा वाइफाई छोड्न सकिने टेलिकमले जनाएको छ। ‘फोर जी चलाउँदा इन्टरनेटको गति पनि बढी हुन्छ,’ अधिकारीले भने, ‘ठूल्ठूलो फाइल पनि सहजै डाउनलोड गर्न सकिन्छ।’

उनका अनुसार अहिले भइरहेको थ्रिजीबाट पनि फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल चल्छन्। तर, यूट्युव र अत्यन्त ठूला आकार फाइल अपलोड तथा डाउनलोड गर्न, आवश्यकताअनुसार भिडियो कल गर्न, भिडियो हेर्नलगायत काम गर्न फोर जी जोड्नुपर्ने अधिकारी बताउँछन्।

नेपाल टेलिकमका अनुुसार बजारमा पाइने सबैखाले मोबाइल सेटमा भने तत्काल फोर जी सेवा चल्दैन। ‘एन्ड्रोइड भर्सनका धेरैजसो मोबाइलमा आजैबाट फोर जी सेवा सुरु गर्न सकिन्छ,’ उनले भने, ‘तर, आइफोनमा तत्काल फोर जी सेवा उपलब्ध गराउन सकिँदैन्।’ नेपाल टेलिकमले सोल्टी होटलमा एक कार्यक्रमबीच नेपालमा फोर जी सेवा सुरु गर्दै छ।

थ्रीजी भन्दा महँगो
टेलिकमले सुरु गर्न लागेको फोर जी सेवा थ्रीजीको भन्दा केही महँगो हुने जनाएको छ। थ्रीजीको तुलनामा फोर जी इन्टरनेट १० गुणा तिब्र हुने भएकाले थ्रीजीकै मूल्यमा फोर जी सेवा उपलब्ध नहुने टेलिकमको भनाइ छ।

फोरजीमा अनलिमिटेड प्याकेज भएकाले महँगो हुने टेलिकमलले जनाएको छ। ‘सुरुको केही दिन बढी मूल्य नलिने योजना छ,’ उनले भने, ‘तर, सधैभरी सस्तो थ्रीजीकै मूल्यमा सुविधा प्रदान गर्न कठिन हुन्छ।’

‘अहिले उपभोक्ताले प्रयोग गरिरहेको थ्रिजीको अधिकतम गति २१ एमबिपिएस होे। टेलिकमले फोरजी सुरु गर्दा त्यसको गति बढीमा ४० एमबिपिएस हुन्छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘एमबिपिएस बढी भएकाले मूल्य पनि बढी हुनु स्वभाविक हो।’

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १२:३८