जग्गाधनी पुर्जा दिन नापनक्साको काम धमाधम

सुर्खेत: पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास अन्तर्गतका थप जग्गाहरूको नापनक्साको काम थालिएको छ । भूमिहीन तथा सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरणका लागि उक्त नापजाँच गर्न लागिएको हो । गुर्भाकोट नगरपालिकाका अनुसार वडा नं. ८ स्थित खटाङ्ग क्षेत्रबाट जग्गाहरूको नापनक्साको काम सुरु भएको छ । सोमवारदेखि जग्गाको नापजाँच गर्ने काम थालिएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले जानकारी दिए । ‘वडा नम्बर ८ बाट जग्गाको नापजाँच गर्ने काम सुरुवात गरेका छौँ,’ उनले भने, ‘अब अन्य वडाहरूमा पनि विस्तारै नापनक्साका गर्ने तयारी गरिएको छ ।’ राष्ट्रिय भूमि आयोग सुर्खेत र गुर्भाकोट नगरपालिकाको समन्वयमा जग्गाको नापनक्सा अघि बढाइएको हो । नगरप्रमुख पुनले आगामी ६ महिनाभित्र गुर्भाकोट नगरभित्रका १४ वटै वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्नेगरी धमाधम काम भइरहेको दाबी गरे । उनका अनुसार जग्गा धनी पुर्जा वितरणका लागि भूमि आयोग, मालपोत तथा नापी कार्यालयसँग समन्वय गरेर नगरपालिका अघि बढेको छ ।

यसअघि गुर्भाकोटको कोटमाँझ खर्कमा रहेका केही परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले यसअघि चैत २५ मा साविक कोटमाँझखर्कमा लालपुर्जा वितरण गरेको बताए । पौडेलले सरोकारवाला निकायसँग समन्वय गरेर थप काम अघि बढाइएको जनाए । कोटमाँझ खर्कअन्तर्गत सबै प्रक्रिया पूरा भएका भूमिहीनलाई राष्ट्रिय भूमि आयोगले गएको चैतमा पुर्जा दिएको थियो । त्यसबेला गुर्भाकोटमा ३४ थान लालपुर्जा बाँडिएका थिए । गुर्भाकोटका १८ पुरुष र १२ महिलाले जग्गाको स्वामित्वसहितको पुर्जा पाएका थिए भने ६३ कित्ता जग्गा वितरण भएको थियो । आयोगको सुर्खेत समितिका अनुसार लालपुर्जा वितरणका लागि जिल्लाका अन्य पालिकामा पनि जग्गा नापजाँचको काम चलिरहेको छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७९, बुधबार ०५:०१