सिटी बसपार्कमा दैनिक २० हजार राजस्व संकलन
सुर्खेत: वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा दैनिक झन्डै २० हजार राजस्व संकलन हुने गरेको छ । शौचालय, पार्किङ, प्रवेश शूूल्कलगायतबाट उक्त रकम उठ्ने गरेको हो । सटर भाडाबाहेक पनि यहाँ बसर्पाक सञ्चालन कार्यविधिअनुसार विभिन्न शुल्क लिने गरिएको छ । यसअघि बसपार्क सञ्चालन व्यवस्थापनको जिम्मा पाएको पीआर कन्स्ट्रक्सन सम्पर्कविहीन भएपछि उसँगको सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ । अहिले बसपार्क नगरपालिका आफँैले रेखदेख गरिरहेको छ । भदौ २ गतेदेखि सिटी बसपार्क सञ्चालन व्यवस्थापनका लागि नगरले कर्मचारी खटाएको हो । नगरपालिकाले एकजना अधिकृतसहित तीन जना कर्मचारी व्यवस्थापनका लागि बसपार्कमा परिचालन गरेको छ । त्यसका साथै राजस्व संकलन र सुरक्षालगायतमा पनि केही कर्मचारी खटिएको नगरपालिकाले जनाएको छ । सिटी बसपार्क व्यवस्थापनको संयोजन नगरपालिकाका अधिकृत यामलाल गिरीले गरेका छन् । उनका अनुसार बसपार्क सञ्चालन कार्यविधिमा उल्लेख गरिएका विभिन्न शीर्षकहरूबाट दिनहुँ सरदर २० हजार राजस्व संकलन भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिका र पीआर कन्स्ट्रक्सन बीच २०७७÷साउन १ गते बसपार्क सञ्चालन व्यवस्थापनको ठेक्का सम्झौता भएको थियो । त्यस्तै, राजस्व संकलन सम्झौता २०७७ मंसिर १५ मा भएको थियो । कन्स्ट्रक्सनसँग नगरपालिकाले एक वर्षको भाडा असुुल्न बाँकी छ । उक्त कम्पनीले भाडाबापतको ३७ करोड रकम नबुझाएर फरार भएको नगरपालिकाले जनाएको छ । यो बीचमा एक महिना बसपार्कको व्यवस्थापन लथालिङ्ग बनेको थियो । तत्कालको व्यवस्थापन नगरपालिकाले सम्हालेपनि केही समयपछि पुनः टेण्डरमार्फत निजी कम्पनीहरूलाई दिने तयारी गरिएको छ । बसपार्कको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले न्यायालयको निर्णय पर्खेर नयाँ ठेक्का आह्वान नगरिएको नगर उपप्रमुुख निलकण्ठ खनाल बताउँछन् । ‘अस्तव्यस्त भएपछि नगरपालिकाले व्यवस्थापन सुरु गरेको छ,’ उनले भने, ‘अदालतको निर्णय आइसकेपछि पूनः ठेक्काको प्रक्रिया थालिने छ ।’
पीआर कन्स्ट्रक्सनलाई भाडा बुझाउन १५÷१६ पटक पत्राचार गरिसक्दा पनि बेवास्ता गरेपछि न्यायका लागि अदालत पुगेको नगरपालिकाले जनाएको छ । यसअघिको सञ्चालकविरुद्ध नगरपालिका अदालत पुगेको हो । गत असार ३१ गते बसेको कार्यपालिका बैठकले सम्झौता बमोजिम भाडा बुझाउन सम्पर्कमा नआएपछि कानुनी प्रक्रियामा जाने निर्णय गरेको थियो । ऋण लिएर निर्माण गरिएको बसपार्क २०६८ सालमा निर्माण कार्य थालनी गरेर २०७६ मा सम्पन्न भएको थियो । २०७७ मंसिर १५ मा पीआर कन्स्ट्रक्सनले सञ्चालनका लागि जिम्मा लिएको थियो । सिटी बसपार्कमा ५४ वटा सटरसहित ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल छन् । त्यसको सबै भाडा ठेकेदार कम्पनीले उठाउने र नगरपालिकालाई मासिक ३१ लाख १५ हजार पाँच सय ३२ रूपैयाँ तिर्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
प्रकाशित मितिः ७ भाद्र २०७९, मंगलवार ०५:०१
साझा बिसौनी ।