व्यवसायिक एकतामा जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
आफ्नो हक तथा अधिकारको सुनिश्चताका साथै जिल्लाका विकास निर्माणका लागि व्यवसायिक एकता हुनुपर्ने शनिवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छ । मध्यपश्चिम ट्रक तथा ट्रेक्टर व्यवसायी संघको १७ औं वार्षिक साधारणसभाका सहभागीहरूले यस्तो बताएका हुन्् ।
व्यवसायीहरू बीचमा संस्थागत एकता भएमा सफलता प्राप्त गर्न सकिने भन्दै उनीहरूले ट्रक तथा ट्रेक्टर व्यवसायीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । राज्यले ट्रक तथा ट्रेक्टर व्यवसायीहरूलाई विभेद गर्ने गरेको गुनासो समेत उनीहरूले गरेका छन् । सभामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले व्यवसायको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले नाफा कमाउनका लागि नभइ सेवा प्रदान गर्नका लागि संघ खोलिएको भन्दै सिन्डिकेट नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जान नसकेकोमा गुनासो गरे । 
यस्तै साधारणसभामा मध्यपश्चिम ट्रक तथा ट्रेक्टर व्यवसायी संघका अध्यक्ष प्रकाश अधिकारीले नेपालगन्ज जान पैसा र समय धेरै खर्च हुने भएकाले सवारी लाइसेन्स सुर्खेतबाट पनि दिने व्यवस्था मिलाउन माग गरे । सुर्खेत–नेपालगन्ज मोटरबाटो साँघुरो भएकाले दुर्घटनाको खतरा बढी हुने भन्दै जिल्लाका राजनीतिक नेतृत्वहरूले सुधारमा पहल गर्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पूर्णिमा उपाध्यायले इन्धन अभावका बेला समेत प्रशासन कार्यालयले ट्रक तथा ट्रेक्टरहरूलाई सहज इन्धन वितरणको व्यवस्थापन गरेको बताइन् । 
संघका महासचिव चेतनकुमार थानीले प्रतिवेदन प्रस्तुत गर्दै ६ सय ६८ वटा मालबाहक सवारीहरू संघमा आवद्ध भएको जानकारी दिए । सभामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष कृष्णबहादुर थपलिया, सुदूरपश्चिम क्षेत्रीय उपाध्यक्ष उपेन्द्र विष्ट, महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्रविक्रम वानियाँ, प्रेस सल्लाहकार जीवराज भट्टराई लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
प्रकाशित मितिः   १६ फाल्गुन २०७२, आईतवार १०:३९