शाहीले लिए मन्त्रीको शपथ
सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले आइतवार पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । शाही माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । उनी डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए । गएको बिहीवार मन्त्रीमा उनी नियुक्त भएका थिए । यसअघि २०७८ माघ २३ गते नियुक्त भएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को ६ महिने पदावधि साउन २३ गतेदेखि सकिएपछि सोही मन्त्रालयमा शाहीलाई नियुक्त गरिएको हो ।
मुख्यमन्त्री शाहीले नियुक्त गरेपछि उनलाई शुक्रवार नै शपथ खुवाउने तयारी थियो । तर, उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशीता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथ रोकिएको थियो । अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो । सोही आधारमा बिहीवार मन्त्री नियुक्त भएलगत्तै उच्चले मुख्यमन्त्री र प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो । सरकारले भने अदालतको ध्यानाकर्षण पत्रको बेवास्ता गर्दै बीरबहादुर शाहीलाई नै मन्त्री बनाएको हो । मुख्यमन्त्रीसहित आठ सदस्यीय कर्णाली मन्त्रिपरिषद्मा यसपटक पनि महिला सहभागिता शून्य भएको छ ।
प्रकाशित मितिः २९ श्रावण २०७९, आईतवार १९:५६
साझा बिसौनी ।