विकासको ढोका खोलेर बिदा

अंग्रेजी वर्ष सन् २०१६ प्रदेश नम्बर ६ का लागि नयाँ सम्भावनाको ढोका खोलेर बिदा भएको छ । बितेको वर्षले यो प्रदेशका लागि विकास निर्माण र नयाँ योजना कार्यान्वयनको सम्भावना देखाएर बिदा भएको हो । आइतवार नयाँ वर्षलाई स्वागत गरिरहँदा यो प्रदेशका नागरिकले सन् २०१६ लाई पनि हर्षले बिदाइ गर्नेछन् ।

बितेको वर्षमा यो प्रदेश छिमेकी मुलुक चीनसँग जोडिन पुगेको छ । वर्षौंपछि प्रदेश अन्तर्गत हुम्लाको हिल्सामा पुल बनेपछि समग्र प्रदेश नै चीनसँग जोडिन पुगेको हो । तराईको नाकासँग नजोडिएको यो प्रदेशका लागि उत्तरी नाका जोडिनु सबैभन्दा सुखद् पक्ष बन्यो । चीनसँग जोडिएसँगै बितेको अंग्रेजी वर्षले यो प्रदेशका लागि विकास र सम्भावनाको मुख्य ढोका खोलिदिएको छ । यसकारण पनि यहाँका नागरिकले सन् २०१६ लाई हर्षले बिदाई गर्ने मौका पाएका हुन् । यो प्रदेशका लागि बितेको वर्षले यो नै महत्वपूर्ण उपलब्धी छाडेर गएको हो ।

यस्तै बितेको वर्षले केही नयाँ सम्भावनाहरू पनि छोडेर बिदा भएको छ । समग्र प्रदेशकै खुशी ओसार्ने अपेक्षा गरिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढोका पनि बितेको वर्षले खोलिदिएको छ । बिदा भएको सन् २०१६ मा नै सुर्खेतमा यो विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ । योसँगै प्रदेशको सम्भावित राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया चलेको छ । १२ वर्षदेखि निर्माण अलपत्र परेको छिन्चुदेखि जाजरकोट जोड्ने भेरी नदीको पुल उद्घाटन बितेकै वर्षमा भयो । पुल नहुँदा सास्ती भोग्दै आएका त्यसक्षेत्रका नागरिकका लागि बितेको वर्ष सुखद् रह्यो । यसले सुर्खेत–जाजरकोट–डोल्पा जोड्ने भेरी करीडोर निर्माणको बाटो खुलेको छ ।
अर्कोतर्फ कर्णाली करिडोर अन्तर्गत हुम्ला जोड्ने सडक निर्माणको गति पनि बितेको वर्षमा सन्तोषजनक नै रह्यो ।

वर्षौंदेखि भरपर्दो उपचार नपाउँदा हैरान भएका यो प्रदेशका नागरिकका लागि बिदा भएको वर्षले स्वास्थ्य क्षेत्रमा पनि नयाँ सम्भावना र आश छोडेर गएको छ । सन् २०१६ मा नै सरकारले सुर्खेतमा मेडिकल कलेज स्थापनाको घोषणा ग¥यो । सोही वर्ष नै चीन सरकारले मध्यश्चिम विश्वविद्यालयको मातहतमा रहने गरी मेडिकल कलेज स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । मेडिकल कलेज स्थापनाको प्रक्रिया चलिरहेको छ । यसले पनि यो प्रदेशका लागि वितेको वर्ष उपलब्धिमूलक नै रह्यो । मध्यपश्चिम क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका सदस्य पूर्णप्रसाद पौडेल भन्छन्, ‘बितेको वर्ष सुखद् नै रह्यो, अब क्षेत्रीय अस्पताल सुविधायुक्त हुनेछ । साढे तीन सय शैयाको बनाउने गरी बजेट प्राप्त भएको छ, अब यो अस्पताल प्रदेशकै केन्द्रीय अस्पताल हुनेछ ।’ सिटामोल नै नपाउने यहाँका नागरिकका लागि बितेको वर्षले बाँच्ने आधार छोडेरे गएको उनको भनाइ छ ।

बाढीपहिरो र केही ठूला सवारी दुर्घटनाका कारण पीडादायी बनेको सन् २०१५ लाई आँशुले बिदाई गरेका यहाँका नागरिकले अघिल्लो वर्ष २०१६ लाई भने हर्षका साथ स्वागत गरेका थिए । अघिल्लो वर्षको पहिलो दिन नयाँ वर्षलाई खुशीको अपेक्षासहित स्वागत गरेका यो प्रदेशका नागरिकका लागि सन् २०१६ को अन्तिम दिनसम्म पनि विकास र खुशी थुपार्दै बिदा भएको छ । विकासको आँखाबाट हेर्दा प्रदेश ६ का लागि बितेको वर्षले समग्रमा नयाँ आशा देखाएको छ । बिदा भएको सन् २०१६ मा नै दैलेखमा पेट्रोलियम खानीको सम्भाव्यता अध्ययन भइ त्यहाँ खाना पकाउने ग्यास भएको पुष्टीसमेत भएको छ । यसले पनि विकासको अर्को इट्टा थपेको छ । यस्तै सोही वर्ष सुर्खेतमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा छनौट, कर्णाली राजमार्गको थप स्तरन्नोतिका लागि सरकारी घोषणा, रत्नराजमार्ग दुई लेन बनाउने प्रस्ताव, यो प्रदेशलाई प्रदेश ७ मा जोड्ने दैलेखको राकमस्थित कर्णाली पुलको उद्घाटन, माथिल्लो कर्णाली र भेरी–बबई डाइभर्सन आयोजनाको निर्माणमा निरन्तरता लगायतले पनि प्रदेश समृद्धिको ढोका खोल्दै सन् २०१६ बिदा भएको हो ।

बितेको वर्षमा नै यहाँका राजनीतिक दलहरूले प्रदेश समृद्धिको योजना सार्वजनिक गरे । एमाले र माओवादी केन्द्रले प्रदेश ६ को समृद्धिको खाका नै बनाएर सार्वजनिक गरेका हुन् । यसले पनि बितेको वर्षले दलहरूलाई विकास र समृद्धिको खाका कोर्न उत्प्रेरणा दियो । दुवै दलले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत बनाउने विषयमा औपचारिक निर्णय नै गएको वर्षमा गरे । यसले पनि यहाँका नागरिकमा दलहरूप्रतिको विश्वास थप जगाएको छ । विकास र सम्भावनाको ढोका खोलेर बिदा भएको सन् २०१६ लाई बिदाईको हात हल्लाउँदै गर्दा यहाँका नागरिकले सन् २०१७ ले थप समृद्धि बोकेर आउने अपेक्षा गरेका छन् ।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १०:४३