सहिद परिवारको गुनासोः ‘सरकारले बेवास्ता गर्यो’
सुर्खेत: कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका सहिद परिवारले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । सातौं सहिद समृति दिवसका अवसरमा बुधवार सहिद याम बिसी स्मृति प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको श्रद्धाञ्जली सभामामा सहभागी सहिद परिवारले प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गरेका हुन् ।
सहिद यामबहादुर बिसीकी बहिनी भगवती बिसीले अधिकार प्राप्तिको लडाइँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको दुखेसो पोखिन् बिसीले भनिन् ‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यसअनुसार काम नहुँदा पीडा बोध हुन्छ ।’ सहिदको सम्झनामा सरकारले श्रद्धाञ्जली सभासमेत नगरेकोमा उनले गुनासो व्यक्त गरिन् । ‘इतिहास र सहिदको रगतको अपमान हुनु भनेको हाम्रो अस्तित्व सकिनु हो’ बिसीले भनिन् । प्रदेश सरकार र आफूहरूबीच भएको सहमति कार्यान्वयनमा गम्भिर हुनुपर्ने माग उनको छ ।
अर्का सहिद परिवार सदस्य अमृत गौतमले पनि सरकारले बेवास्ता गरेको बताए । सरकारले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग नगरेको उनको भनाइ थियो । अमृतका बुवा टिकाराम गौतमले आन्दोलनमा ज्यान गुमाएका थिए । सहिदका परिवारलाई छात्रवृति, औषधउपचार, आयआर्जन तथा रोजगारी दिइने भनिए पनि नदिएको गौतमले जनाए ।
सोही कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न सरकार लागि परेको बताएका छन् । नागरिक आन्दोलनले कर्णाली जन्मिएको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरिरहेको बताए । ‘संघीय संरचनाअनुसारका अधिकार प्रयोग गरी कर्णालीलाई अगाडि बढाउने जिम्मेवारी हामी सबैको हो, हामी मिलेर अगाडि बढ्न सकेनौ भने सहिदका सपना कदापी पूरा हुने छैनन्’ उनले भने । सहिदको सम्झनामा प्रादेशिक सहिद पार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जिविकोपार्जन, रोजगारी, घाइतेहरूको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने मन्त्री बुढाक्षेत्रीको भनाइ थियो ।
देश संघीयतामा गएसँगै साविक मध्यपश्चिमलाई सीमाङ्कनमा सुदुरपश्चिमसँग गाभिएपछि अखण्ड मध्यपश्चिमको माग राख्दै आन्दोलन भएको थियो । उक्त आन्दोलनका क्रममा २०७२ साउन २५ गते प्रहरीले चलाएको गोली लागि सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भयो । उनीहरू चारै जनालाई सहिद घोषणा गरिएको थियो ।
प्रकाशित मितिः २६ श्रावण २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।