वन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत: डिभिजन वन कार्यालय मुगुका डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित सात जनाविरुद्ध भ्रटाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । बुढथापासँगै दुई जना सव–इन्जिनियर र निर्माण उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय मुगुमा निकासा भएको रकम अनियमितता गरेको ठहर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छ ।

सव–इन्जिनियरद्वय हिमालकुमार मल्ल र गोरसिंह बढुवालका साथै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियारले निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी गराइ झुट्टा नापी किताब, मूल्याङ्कन बिल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भन्दै सोही कागजातको आधारमा उनीहरूविरुद्ध मुद्दा चलाएको हो । अख्तियारले भ्रष्टाचार अभियोग लागेका उनीहरूविरुद्ध २० लाख ४८ हजार चार सय तीन रूपैयाँ बिगो दाबीसमेत गरेको छ ।

प्रकाशित मितिः   २५ श्रावण २०७९, बुधबार ०५:०१