लागूऔषध खोज्दै ‘गौरी’ र ‘जमूना’

बिसौनी संवाददाता
सुर्खेत, २९ चैत ।
पछिल्लो एक महिनामा सुर्खेतमा दुई दर्जन युवाहरू ब्राउनसुगरसहित पक्राउ परे । प्रहरीको चेकजाँचको क्रममा लागूऔषध ब्राउनसुगर भेटिएपछि उनीहरू पक्राउ परेका हुन् । अधिकांशलाई नेपालगन्जबाट वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका सुब्बाकुनाबाट समातिएको हो । दिनहुँजसो मोटरसाइकल र सार्वजनिक सवारी साधनमा तस्करहरूले अवैध लागूऔषध  भित्रयाउन थालेपछि हैरान भएको सुर्खेत प्रहरीले त्यसलाई नियन्त्रण गर्न नयाँ रणनीति अपनाएको छ ।
लागूऔषधको कारोबार र दुर्व्यसनीको केन्द्र बन्न थालेपछि प्रहरीले जिल्लामा लागूऔषध नियन्त्रणका लागि सोमवारबाट तालिम प्राप्त कुकुर परिचालन गरेको छ । तस्करहरूले प्रहरीलाई उल्टै प्रलोभनमा पार्ने र प्रहरीले नभेट्न गरी लागूऔषध लुकाएर ल्याउने प्रवृत्ति बढेपछि कुकुर परिचालन गरिएको हो । अब लागूऔषध नियन्त्रणको विशेष तालिम पाएका गौरी र जमूना नामका ती कुकुरहरूले जिल्ला बाहिरबाट भित्रिने सवारी साधनमा चेकजाँच गर्नेछन् । गौरी र जमूनाले सोमवारदेखि सवारी साधनमा जाँच सुरु गरिसकेका छन् । भारतबाट नेपालगन्ज हुँदै तस्करहरूले लागूऔषध जिल्लामा भित्रयाउन थालेपछि वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाकामा गौरी र जमूनाले सबै सवारी साधनमा जाँच गर्न थालेका हुन् ।

सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लले आफूहरूले समेत नभेट्ने गरेर तस्करहरूले सवारी साधनको विभिन्न भागमा लुकाएर लागूऔषध ओसार्न थालेपछि तालिम प्राप्त कुकुर जिल्लामा ल्याइएको बताए । उनले भने, ‘जिल्लामा लागूऔषधको कारोबार र प्रयोगको अवस्था भयावह छ, तस्करले गाडीमा लुकाएको लागूऔषध प्रहरीले समेत फेला पार्न मुश्किल भयो । त्यही भएर हामीले कुकुर मगाएका हौं, अब जहाँ लुकाएर ल्याएको भए पनि कुकुरहरूले पत्ता लगाउने छन् ।’ तस्करले चेकिङमा रहेका कतिपय प्रहरीलाई नै प्रलोभनमा पारेर लागूऔषध भित्रयाउने गरेको भन्दै अब उनीहरू उम्कन नसक्ने बताए । ‘तस्करहरू आफू नेपालगन्जमै बसेर गाडीमा कसैलाई थाहा नहुनेगरी लागूऔषध पठाउँदा रहेछन्’ उनले थपे, ‘त्यो लुकाएको गाडीका मालिक र चालकलाई पनि पत्तो हुँदैन, हामीले पनि कतिपय अवस्थामा भेटाउन सक्दैनौं । गाडीमा सामान भित्रिएपछि तस्करले फोनबाटै काम गर्छन्, अब कुकुरले जहाँ लुकाएको भए पनि पत्ता लगाउने छन् ।’ प्रहरीका अनुसार अब सवारी साधनमा कसैले लागूऔषध लुकाएर ल्याएमा कुकुरहरूले सङ्केत गर्नेछन् । सोही आधारमा प्रहरीले काम गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो एक महिनामा दुई दर्जन व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ । त्यसमा अधिकांश लागूऔषध ओसार्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ । यस्तै केहीलाई भने वीरेन्द्रनगरका विभिन्न स्थानमा लागूऔषध प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका अधिकांश १५ देखि २० वर्ष उमेरका छन् । पछिल्लो समय सुर्खेत लागूऔषध दुव्र्यसनीको केन्द्र बन्न थालेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ । यस्तै तस्करहरूले सुर्खेतलाई केन्द्र बनाएर यस क्षेत्रका अन्य पहाडी जिल्लाहरूमा समेत लागूऔषध ओसार्ने गरेको पाइएपछि आफूहरूले विशेष अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अब तालिम प्राप्त कुकुरहरूको सहयोगले जिल्लाका विभिन्न नाकामा चेकजाँच गरिनेछ । गौरी र जमूनाले सवारी साधनमा लागूऔषध भए नभएको बारेमा जाँच गर्नेछन् । यसले प्रहरीलाई समेत सहज हुने डीएसपी मल्लको भनाइ छ । प्रहरीका अनुसार तस्करहरूले मोटरसाइकलको टायरभित्र, पेट्रोल ट्यांकी र इन्जीनभित्र लुकाएर लागूऔषध भित्रयाउने गरेका छन् । यस्तै उनीहरूले सार्वजनिक सवारी साधनमा पनि कसैले थाहा नपाउने गरी र प्रहरीले सहजै फेला नपार्ने गरेर लागूऔषध भित्रयाउन थालेपछि कुकुर परिचालन गरिएको प्रहरीले बताएको छ ।
चाँडो धनी बन्ने लोभका कारण अधिकांश युवाहरू लागूऔषधको तस्करीमा संलग्न रहेको पाइएको छ । जिल्लामा तस्करहरूको गिरोह नै सक्रिय रहेको र उक्त गिरोहले विद्यालय उमेरका किशोर किशोरीहरूलाई लागूऔषधको ओसार पसारमा प्रयोग गरेको भेटिएको छ । सुर्खेत
प्रहरीका अनुसार आर्थिक रूपमा सम्पन्न परिवारका युवायुवतीहरू नै लागूऔषधको कारोबारमा संलग्न भएको पाइएको छ । कुकुरहरू परिचालन भएपछि तस्करहरूको मनोवल कमजोर हुने र जिल्लामा भित्रिएको लागूऔषध फेला पर्ने विश्वास प्रहरीले गरेको छ । यसले प्रहरीको कार्यबोझमा समेत कमी आउने र तस्करहरू कुनै पनि हालतमा उम्कन नसक्ने भन्दै प्रहरीले जिल्लामा बढ्दै गएको लागूऔषधको कारोबार र प्रयोगलाई नियन्त्रण गरेरै छाड्ने अठोट लिएको छ ।