पेलेरै जाने कुरा नगरे हुन्छ : ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेशको सिमांकनको विषयलाई थाँती राख्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङबाट आएको परिणाम स्वीकार गर्न एमाले तयार रहेको बताएका छन् ।

प्रदेशको सीमांकन हेरफेर संघीयताको सिद्धान्त र संविधान विपरित भएको उनको दाबी छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले भने,’प्रदेशको सीमांकन बाहेकका तीन वटा विषयमा संसदमा छलफल गर्न एमाले तयार छ, र भोटिङ्बाट आएको परिणाम एमालेले स्विकार गर्छ, तर सिमांकनको विषयमा एमालेले कम्प्रोमाईज गर्दैन ।’

यद्यपि उनले नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संसदमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।

एमाले सचिव ज्ञवालीले पहाड र मधेसलाई अलग गर्ने प्रस्ताव स्वीकार्य नहुने बताए । उनले भने,’सबैभन्दा राम्रो उपाय भनेको विद्येयक फिर्ता लिनुपर्छ, किनकी कुनै हालतमा पारित हुँदैन ।’

उनले सरकारलाई संशोधन विद्येयक फिर्ता लिन प्रतिष्ठाको विषय भए प्रस्ताव स्थगन गरेर अघि बढ्न आफ्नो पार्टीले सहयोग गर्ने समेत बताए । ज्ञवालीले भने, ‘प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विद्येयक अघि बढेको रु

एमालेको अवरोधको बावजुदपनि संशोधन पास गर्ने सत्तारुढ दलको अभिव्यक्ति आएको भन्दै उनले भने,’ धम्कीको भाषा नदिए हुन्छ, पेलेरै जाने कुरा नगरे हुन्छ ।’

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १६:४२