गाउँमै भत्ता वितरण

सुर्खेत: भेरीगंगा नगरपालिका वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता गाउँमै वितरण गरिने भएको छ । हाल त्यहाँका लाभग्राहीले छिन्चुस्थित सिभिल बैंकको शाखाबाट सुरक्षा भत्ता बुझदै आएका छन् । अब भने वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालिएको हो । ज्येठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता लिन विभिन्न कठिनाइहरू हुने गरेकाले गाउँमै वितरण गर्ने प्रबन्ध मिलाइएको वडा अध्यक्ष गणेशबहादुर भण्डारीले जनाए । उनका अनुसार साउन ११ गते साबिक रामघाट गाविसका वडा नम्बर ८ र ९ का सेवाग्राहीलाई लालीगुराँस माध्यमिक विद्यालय, साउन १२ गते साबिक वडा नम्बर ६ र ७ का वडा कार्यालय भवन र ती स्थानमा छुटेकालाई साउन १३ गते वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिइने भएको हो ।

भत्ता लिन आउँदा लाभग्राहीहरूले नागरिकता वा मतदाता परिचय–पत्रको प्रतिलिपी र सामाजिक सुरक्षा परिचय–पत्रको प्रतिलिपी साथमा ल्याउनुपर्ने वडा कार्यालयले जनाएको छ । पायक पर्ने तोकिएको स्थानमा आएर सामाजिक सुरक्षा भत्ता बुझ्न लाभग्राहीका लागि सार्वजनिक सूचना जारी गरेको छ । वडा कार्यालयको पहल तथा सिभिल वैकको समन्वयमा आर्थिक वर्ष २०७८/०७९ अन्तिम किस्ता वापतको भत्ता रकम वितरण गरिने सूचनामा उल्लेख छ । भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न गाउँ तथा टोलमै पुगेर वितरण गर्न लागिएको बताइएको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०७९, बुधबार ०५:०१