‘नागरिकता विधेयक पास गर्नु नालायकीपन’

सुर्खेत: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिकता विधेयक पास गरेर सरकारले नालायकीपन देखाएको टिप्पणी गरेका छन् । पार्टीको आन्तरिक भेलालाई सम्बोधन गर्न सुर्खेत आएका पोखरेलले आइतवार प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । नेता पोखरेलले नागरिकता विधेयक पारित गर्नु राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले उचित नभएको जिकिर गरे । ‘नेपाली चेलीहरू भारतमा बिहे गर्दा उनीहरूले त्यहाँको नागरिकता पाउनको लागि सात वर्ष लाग्छ, तर भारतीय चेलीहरू नेपालमा विहे गरेर आए तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु भनेको दुई देशबीचको असमानता खडा गराउनु हो,’ उनले भने । यस्तो विषयलाई संसद्मा राख्ने कुरा पनि राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले राम्रो मान्न नसकिने उनले जनाए ।
नागरिकता विधेयक हतारमा पारित गरेर पाँच दलीय गठबन्धनले नेपाली चेलीहरूले अन्याय ब्यहोर्नुपर्ने प्रबन्ध गरेको पोखरेलको आरोप छ । नागरिकता विधेयक नेकपा ‐एमाले) सरकारमा रहँदाकै बखत प्रस्तुत भएको र राज्य व्यवस्था समितिमा झन्डै दुई वर्ष छलफल भएर निश्कर्ष निकालेको उल्लेख गरे । राज्य व्यवस्था समितिले निकालेको निश्कर्षलाई फिर्ता गरी नयाँ विधेयक प्रस्तुत गरेर पारित गर्नुले एक प्रकारको असन्तुलन पैदा भएको पोखरेलको जिकिर छ । नागरिकता विधेयका सन्दर्भमा नेकपा ‐एमाले)ले राष्ट्रिय हितका पक्षमा अडान राखेपनि सत्ता पक्ष लम्पसार परेको उनको भनाइ छ । प्रतिनिधिसभामा गएको शुक्रवार लामो छलफलपछि नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित भएको थियो । विधेयक पारित भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा ‐एमाले)का नेताहरूले त्यसको विरुद्धमा अभिव्यक्ति दिँदै आएका छन् ।
प्रकाशित मितिः ९ श्रावण २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।