एमालेसँग अरुको तुलना हुन सक्दैनः पोखरेल

सुर्खेत: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्वाधिनता, स्वाभिमान र राष्ट्रियताका सवालमा एमालेसँग अरु पार्टीलाई दाज्न नमिल्ने बताएका छन् । वीरेन्द्रनगरमा शनिवार आयोजित पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक निर्माण गर्ने संकल्प र योजना एमालेबाहेक अरु दलसँग नभएको दाबी गरे । उनले भने, ‘एमाले स्वाभिमान र राष्ट्रियताका सन्दर्भमा अरु पार्टीभन्दा धेरै अगाडि छ । यो विषयमा एमालेसँग अरु पार्टीको तुलना हुनै सक्दैन । हाम्रो पार्टीकै कारण अन्तर्राष्ट्रियस्तरमा नेपालीहरूको शिर ठाँडो भएको छ ।’ एमाले नेतृत्वको सरकारले नाकाबन्दीको सामानादेखि अन्तर्राष्ट्रियस्तरमा स्वाभिमानी मुलुकको पहिचान बनाएको उनले जिकिर गरे । अहिलेको सत्ता गठबन्धन लम्परारहरूको गठजोड भएको टिप्पणी गर्दै नेता पोखरेलले भने, ‘उहाँहरू आफैले कम्फर्टेबल भन्ने गर्नुभएको छ, सत्तारुढ गठबन्धनका क्रियाकलापले पनि अहिले त्यही पुष्टि गरेको छ ।’

गएको स्थानीय तह निर्वाचनमा एकल मतका हिसाबले एमाले नै पहिलो रहेको उनको दाबी गरे । ‘पाँच दलीय गठबन्धन एकातिर र एमाले एक्लै भिड्दा पनि हाम्रो मत घटेको छैन,’ पोखरेलले भने, ‘आन्तरिक मत झन् बढेर आएको छ, यो हाम्रो गौरवको कुरा हो ।’ महासचिव पोखरेलले स्थानीय चुनावमा गठबन्धनको सहारामा कांग्रेस सिटमा अघि देखिएपनि मतका हिसाबले एमाले नै पहिलो पार्टी बनेको जिकिर गरे । एक अर्को सन्दर्भमा उनले एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व लिन नपाएकाले यहाँका जनताले संघीयताको फाइदा लिन नसकेको बताए । ‘एमालेले सरकारको नेतृत्व गर्न पाएको भए कर्णालीको रूपरङ्ग नै फेरिन्थ्यो,’ उनले भने । अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्नेगरी लाग्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे । कर्णालीमा एमालेको बलियो किल्ला बनाउनुपर्ने उनको जोड थियो ।

नेता पोखरेलले एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएको औल्याए । पार्टीभित्र नेता तथा कार्यकर्ताहरूको आचरण बिग्रिन थालेको उनले बताएका हुन् । ‘हाम्रा नेता कार्यकर्ताको बानी बिग्रेको रहेछ, टिकट नपाएको असन्तुष्टि चुनावमा पोखेको पाइयो । म भए ठिक, नभए बेठीक भन्ने प्रवृत्ति देखियो,’ उनले भने । यस्ता प्रवृत्तिलाई कम्युनिष्ट आचरण मान्न नसकिने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ८ श्रावण २०७९, आईतवार ०५:०१