बजेट अभावमा निर्माणाधीन तरकारी संकलन केन्द्र अलपत्र

सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा निर्माणाधीन तरकारी संकलन केन्द्रको काम अलपत्र परेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रीका लागि निर्माण थालिएका भौतिक संरचना बजेट अभावमा अधुरै रहेका हुन् । निर्माणको कामले निरन्तरता नपाउँदा बनेका संरचना पनि बेवारिसे भएका छन् ।

चौकुनेको गुटु बजार र वडा नम्बर ६, ७, ८ आसपासका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुलाई लक्षित गरी उक्त संकलन केन्द्र निर्माण थालिएको थियो । संकलन केन्द्रका लागि चार कोठे भवन निर्माण भएको छ भने अर्को पाँच कोठे भवन निर्माणाधीन अवस्थामा छ । जंग खनेर पिलर उठाएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि निर्माण कार्य अघि बढेको छैन । यी संरचनाको विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) तयार गरेर स्थानीय नमुना सहकारी गाउँ उपभोक्ता समितिमार्फत निर्माणको काम सुरु गरिएको थियो ।

तरकारी खेती गर्दै आएका साना व्यवसायीलाई समेत लक्षित गरी निर्माण गर्न लागिएको संकलन केन्द्रको काम आर्थिक अभावका कारण अलपत्र परेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विकले बजेट नहुँदा काम अघि बढ्न नसकेको जनाए । बाँकी रहेको निर्माण कार्य गर्न गाउँपालिकासँग आर्थिक स्रोत नभएको उनी बताउँछन् । बीचमै रोकिएको तरकारी संकलन केन्द्रको कामका लागि बजेट व्यवस्थापन गर्न स्रोतको खोजी भइरहेको उनको भनाइ छ । ‘स्रोत जुटाएर भएपनि निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ अध्यक्ष विकले भने ।

संकलन केन्द्र निर्माणका लागि प्राप्त बजेट अपुग भएपछि काम रोकिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा संकलन केन्द्रको भवन निर्माण गर्न कृषि विकास निर्देशनालय सुर्खेतले ३० लाख ४० हजार बजेट उपलब्ध गराएको थियो । नमुना सहकारी गाउँ उपभोक्ता समितिको २० प्रतिशत लगानी रहने गरी काम अघि बढाइयो । भवन निर्माणको कामलाई निरन्तरता दिन निर्देशनालयले पछिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा पनि २३ लाख ९० हजार बजेट दियो । तर, उक्त बजेटले संरचना निर्माण सम्पन्न हुन सकेन । अझै पाँच कोठे भवनको काम अधुरै छ । संकलन केन्द्रको भवन निर्माणमा दुई आर्थिक वर्षमा गरी ५४ लाख ३० हजार बजेट खर्चिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए । उनका अनुसार किसानहरूले माग गरेपछि संकलन केन्द्र स्थापनाको काम अघि बढाइएको थियो । सो क्षेत्रमा तरकारीजन्य उत्पादनका लागि संकलन केन्द्र अति आवश्यक रहेको रोकाय बताउँछन् । ‘निर्देशनालयको सहयोगमा केही काम सम्पन्न भएको छ,’ उनले भने, ‘बाँकी संरचना निर्माणका लागि स्थानीय तहले अपनत्व लिनुपर्ने देखिन्छ ।’

त्यस क्षेत्रमा उत्पादन हुने तरकारी तथा दुग्धजन्य वस्तुले बजार नपाउँदा किसनाहरू मर्कामा छन् । कृषि उपजको बिक्री वितरण सहजताका लागि संकलन केन्द्र जतिसक्दो छिटो सञ्चालनमा ल्याउनुपर्ने किसानहरूको माग छ । हाल बजार तथा सडक छेउमा घुम्ती पसल राखेर व्यवसायीहरूले तरकारी खरिद तथा बिक्री गर्दै आएका छन् । सम्बन्धित निकायको बेवास्ताले गर्दा भवनको निर्माण कार्य पूरा हुन नसकेको किसानहरूको गुनासो छ । चौकुने गाउँपालिका–८ को भट्टेसेरा, किथरे, भाम्ले, मोतिसेरा, डाब, भापरलगायतका क्षेत्रमा तरकारी तथा फलफूल खेती हुन्छ । त्यस क्षेत्रमा उत्पादित कृषि उपजले बजार नपाएर खेर जाने अवस्था छ । संकलन केन्द्र निर्माण अधुरो हुँदा अहिले भवनमा घाँस उम्रिएको छ । ‘संकलन केन्द्र निर्माण थालिँदा यहाँका किसान धेरै खुसी थिए’, वडा नं. ८ का अध्यक्ष कमलबहादुर जिसी भन्छन्, ‘निर्माण कार्य अलपत्र भएकै एक वर्ष भइसक्यो ।’ सो स्थान सडक सञ्जालको पहुँचमा भएकाले पनि तरकारी संकलन केन्द्रको आवश्यकता रहेको उनले औंल्याए । अध्यक्ष जिसीले पछिल्लो समय व्यावसायिक खेती गर्ने किसानहरूको समेत संख्या बढ्दै गएको जनाए ।

विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लागेका चौकुने गाउँपालिका–४ बिजौराका नरेश बिसीले तरकारी संकलन केन्द्र नहुँदा समस्या भइरहेको बताए । उनी भन्छन्, ‘किसानले उत्पादन गरेका तरकारी कहाँ बेच्ने भन्ने पिरलो छ, टाढा–टाढाका व्यवसायीसँग आफैँ सम्पर्क गरेर तरकारी बिक्री गर्नुपर्ने बाध्यतामा छौँ ।’ निर्माण अलपत्र परेको तरकारी संकलन केन्द्रको भवनका लागि विभिन्न निकायको गरी हालसम्म ६० लाख रूपैयाँ खर्च भइसकेको जनाइएको छ । वडा नं. ८ का अध्यक्ष जिसीले बाँकी काम सम्पन्न गर्न अझै ६० लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको जनाए । उनका अनुसार यस वर्ष भने कुनै निकायले पनि भवन निर्माणका लागि बजेट विनियोजन गरेका छैनन् । निर्माणाधीन संकलन केन्द्र स्थलमा दुग्ध चिस्यान केन्द्र, मसलाजन्य उद्योग, कोल्ड स्टोरसमेत सञ्चालन गर्ने लक्ष्य लिइएको छ । नमुना सहकारी संस्थाका सदस्य डिल्लीराम पौडेलले बजेट अभावका कारण यी सबै योजना अलपत्र परेको बताए ।

प्रकाशित मितिः   ६ श्रावण २०७९, शुक्रबार ०५:०५