जुटेन सहमति

सुर्खेत: कर्णाली प्रदेशसभाको बैठक सञ्चालन गर्नेबारे सहमतिको प्रयास थालिएको छ । सदन बहिष्कार गरेको सत्ता साझेदार दल नेकपा ‐माओवादी केन्द्र)लाई सहमतिमा ल्याउन सर्वदलीय पहल सुरु गरिएको हो । त्यसका लागि सभामुख राजबहादुर शाहीले बुधवार सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकमा छलफल भएपनि सहमति भने हुन सकेन ।

सत्ता गठबन्धनको प्रमुख दल नेकपा ‐माओवादी केन्द्र) ले सरकार एकलौटी ढङ्गबाट अघि बढेको भन्दै मंगलवारदेखि संसद् बहिष्कार गरेको छ । सभामुख शाहीले बुधवारको सर्वदलीय बैठकमा ठोस सहमति जुट्न नसकेको जनाए । ‘सर्वदलीय बैठक बस्यो, छलफललाई निरन्तरता दिने सहमति मात्रै भएको छ,’ उनले भने । सत्ता साझेदार दलले प्रदेशसभा बहिष्कार गरेपछि स्थगित भएको बैठक सञ्चालन गर्न आवश्यक छलफल जारी रहेको उनको भनाइ छ ।

मंगलवार प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोपाल शर्माले सरकार गठबन्धनको मर्मविपरीत हिँडेको आरोप लगाएका थिए । माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णरूपमा बेवास्ता गरिएको उनले बताएका थिए । बुधवार बसेको कर्णाली प्रदेशसभा माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभएसम्म सदन र विषयगत समितिमा सहभागी नहुने निर्णय गरेको छ । उपयुक्त छलफल तथा निष्कर्ष नआउञ्जेलसम्म सदनमा उपस्थित नहुने निर्णय भएको माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक कृष्णा शाहले बताइन् । माओवादी केन्द्रले सरकार एकलौटी हिँडेको र बजेट कार्यान्वयन र कानुन निर्माणमा हस्तक्षेप गरेको, प्रमुख सत्ता साझेदार दललाई सबैतिर निषेध गर्न खोजेको लगायतका दर्जनौँ आरोप लगाउँदै असन्तुष्टि जनाएको छ ।

प्रकाशित मितिः   ५ श्रावण २०७९, बिहीबार ०५:०१