कर्णालीका १९ पालिकाले अझै ल्याएनन् बजेट

सुर्खेत: नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि कतिपय स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । कर्णालीका ७९ मध्ये ६० वटा स्थानीय तहले मात्रै आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यहाँका १९ वटा स्थानीय तहले अझै बजेट नल्याएका हुन् । स्थानीय तहले असार दोस्रो साताभित्रै गाउँ तथा नगरसभामा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । हरेक वर्षको जेठ १५ गते संघीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मन्त्रालयको मंगलवारसम्मको विवरणमा देशभरका दुई सय सात स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन् । कूल सात सय ५३ पालिकामध्ये पाँच सय ४६ स्थानीय तहले मात्रै चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं. १ का कूल एक सय ३७ मध्ये एक सय सात स्थानीय तहले बजेट ल्याइसकेका छन् । उक्त प्रदेशका ३० स्थानीय तहले भने हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । त्यस्तै, कूल एक सय ३६ स्थानीय तह रहेको मधेस प्रदेशका ६५ पालिकामा विवादका कारण चालु आर्थिक वर्षको बजेट प्रस्तुत हुन सकेको छैन । मधेस प्रदेशका ७१ स्थानीय तहले भने असारको दोस्रो साता नै बजेट प्रस्तुत गरेका थिए । संघीय राजधानीसमेत रहेको वागमती प्रदेशमा धेरै स्थानीय तहको बजेट आउन बाँकी छ । त्यहाँका ३४ स्थानीय तहमा बजेट पेस भएको छैन । सो प्रदेशमा कूल एक सय १९ स्थानीय तहमध्ये ८५ स्थानीय तहले तोकिएको समयमा नै चालु आवको नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ७६ स्थानीय तहले बजेट प्रस्तुत गर्दा नौ तहको भने बाँकी देखिएको छ । लुम्बिनी प्रदेशका कूल एक सय नौ स्थानीय तहमध्ये ८४ वटाले बजेट ल्याएका छन् भने २५ वटाको हालसम्म सुुरसार नै देखिएको छैन । यस्तै, सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ६३ वटाले बजेट ल्याउँदा २५ वटाको अझै पनि बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असार ३१ गते नै बजेट स्वीकृत भएको विवरण अध्यावधिक गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।

प्रकाशित मितिः   ४ श्रावण २०७९, बुधबार ०५:०१