करार कर्मचारी आन्दोलित

सुर्खेत: स्थानीय तहहरूले करार सेवामा कार्यरत कर्मचारीको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै कर्मचारीहरू आन्दोलित भएका छन् । पालिकाको निर्णयको विरोधमा करार कर्मचारीले कतै तालाबन्दी गरेका छन् भने केहीमा धर्ना सुरु गरेका हुन् । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सोमवार करार कर्मचारीले तालाबन्दी गरेका छन् । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । डुङ्गेश्वर गाउँ कार्यपालिकाको बैठकले केही दिन पहिले करारका कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । उक्त निर्णय सच्चाउनुपर्ने माग करार कर्मचारीको छ ।

गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीका अनुसार त्यहाँ करार सेवामा झन्डै एक सय ५० जना कार्यरत छन् । तीमध्ये करिब ४० जनाको करार सम्झौता नवीकरण नहुने भएको छ । करार कर्मचारीका कारण विकास बजेट कटौती गरेर तलब खुवाउनुपर्ने अवस्था रहेकाले सम्झौता नवीकरण नगर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । सम्झौता नवीकरण नगर्ने निर्णयविरुद्धको आन्दोलनलाई राजनीतिकरण गर्न खोजिएको समेत पालिकाले जनाएको छ । नेपाली कांग्रेसका नेताहरूले नै कर्मचारीलाई तालाबन्दी गर्न उस्काएको आरोप लगाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीका अनुसार असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय बमोजिम गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नहुने भएको छ ।

त्यस्तै, दैलेखकै गुराँस गाउँपालिकामा पनि करार कर्मचारी आन्दोलित छन् । गाउँपालिकाले जागिरको म्याद नथप्ने निर्णय गरेपछि करार कर्मचारी आन्दोलित भएका हुन् । करार सेवामा कार्यरत कर्मचारीहरूले सोमवार पालिका परिसरमा धर्ना दिएका छन् । उनीहरूको आन्दोलनलाई कर्मचारीका विभिन्न पेसागत संघ संगठनहरूले पनि ऐक्यबद्धता जनाएका छन् । म्याद थप नभएसम्म आफूहरूको आन्दोलन जारी रहने कर्मचारी खम्बिरा केसीले बताइन् । करार कर्मचारी हटाउने निर्णयपछि गुराँसमा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व चलिरहेको छ । उनीहरू एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । असार ३१ गतेबाट त्यहाँ कार्यरत करार कर्मचारीहरू आन्दोलित छन् । आन्दोलन थालेको पहिलो दिनमै प्रहरी र प्रदर्शनकारीबीच झपड भएको थियो । उक्त घटनाको छानबिन गर्न समितिसमेत गठन गरिएको छ ।

 

यस्तै, सुर्खेतको चौकुने गाउँपालिकाले पालिकामा कार्यरत ४५ जना करार कर्मचारी हटाएको छ । असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको साउनदेखि म्याद थप नगरिएको हो । करार सम्झौता नवीकरण नहुनेमा वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना करार कर्मचारी छन् । पालिकाले जागिरको म्याद थप नगरिएका करार कर्मचारीहरूको विवरण सार्वजनिक गरेको छ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि आएसँगै धमाधम निर्णय गर्दै करार सेवामा कार्यरत कर्मचारी हटाउन थालिएको छ ।

प्रकाशित मितिः   ३ श्रावण २०७९, मंगलवार ०५:०१