लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्याैट
सुर्खेत: उच्च अदालत सुर्खेतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा एक सय ७१ प्रतिशत धेरै मुद्दा छिनाफाना गरिएको हो । असार २९ गतेसम्म वार्षिक कार्य योजनाको लक्ष्यभन्दा बढी नै मुद्दा फछ्र्यौेट गरिएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले बताए । असार मसान्तसम्ममा पाँच सय ६१ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकोमा सात सय ६९ थान मुद्दा फछ्र्यौट भएका हुन् । बिहीवार उच्च अदालतद्वारा आयोजित पत्रकार सम्मेलनमा रजिष्ट्रार कोइरालाले वार्षिक कार्ययोजनाको लक्ष्यभन्दा दुई सय आठ थान धेरै मुद्दा फछ्र्यौट भएको जनाए । उनका अनुसार उच्च अदालतमा हाल दुई वर्षभन्दा पुरानो मुद्दा एउटा पनि छैन । ‘गएको वर्षको तुलनामा यो वर्ष १२ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएका छन्,’ उनले भने, ‘अब दुई वर्ष पुरानो एउटा पनि मुद्दा छैन ।’ अघिल्ला वर्षहरूको तुलनामा पुनरावेदन दर्ताको संख्या बढेपनि मुद्दा फछ्र्यौट दरमा उल्लेखनीय प्रगति देखिएको बताइएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा जम्मा सात सय ३३ थान मुद्दा संख्या रहेकोमा चार सय ६८ थान अर्थात् ६३ दशमलव ७५ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए भने यसवर्ष गतवर्ष फछ्र्यौट हुन् नसकी बाँकी रहेका मुद्दा संख्या दुई सय ६५ थियो । यस आर्थिक वर्षमा दर्ता भएका सात सय ५६ गरी जम्मा एक हजार २१ मुद्दा रहेकोमा ७५ दशमलव ३२ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । रजिष्ट्रार कोइरालाले उच्च अदालतमा परेका फौजदारी मुद्दामध्ये सबैभन्दा धेरै जवरजस्ति करणीसम्बन्धी रहेको जानकारी दिए । जसमा एक सय ७२ थान मुद्दा परेका हुन् । त्यस्तै, दोस्रो नम्बरमा ज्यान मुद्दा र लागूऔषध सम्बन्धी मुद्दा पपरेका छन् । जसमा ज्यान सम्बन्धी मुद्दा एक सय आठ थान र लागूऔषधसम्बन्धी ९१ थान मुद्दा परेको अदालतले जनाएको छ । अंश मुद्दा १९ थान, सम्बन्ध विच्छेद १७ थान र लेनदेन मुद्दा १३ थान रहेका छन् । अदालतका अनुसार फछ्र्यौट हुन बाँकी दुई सय ५२ थानमध्ये अधिकांश ६ महिनाभित्र दर्ता भएका मुद्दा रहेका छन् भने ६ महिनाभित्रका मुद्दा एक सय ७० थान छन् । ६ महिनादेखि १२ महिनाभित्रका मुद्दा ८२ थान, १२ महिनादेखि १८ महिनाभित्रका आठ थान र १८ महिना नाघेका मुद्दा ६ थान गरी जम्मा दुई सय ५२ थान मुद्दा मात्र बाँकी रहेको जनाइएको छ ।
उच्च अदालत सुर्खेतले मातहतका अदालतहरूको मुद्दाको अवस्थाबारे पनि जानकारी गराएको छ । रूकुम जिल्ला अदालतबाहेक अन्यत्र दुई वर्ष नाघेका कुनै पनि मुद्दा फछ्र्यौट हुन बाँकी नरहेको उच्च अदालत सुर्खेतका मुख्यन्याधीश शेषराज शिवाकोटीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा जाजरकोट जिल्ला अदालतले सबैभन्दा बढी ८०.३७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । त्यस्तै, सुर्खेत जिल्ला अदालतले ७१.६६, दैलेख जिल्ल अदालतले ६०.२९, सल्यान जिल्ला अदालतले ५८.९१ र रुकुम जिल्ला अदालतले ६५.२० प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् ।
प्रकाशित मितिः ३१ असार २०७९, शुक्रबार ०५:०१
साझा बिसौनी ।