जफत भएका सवारी साधन लिलाम बिक्रीको तयारी

सुर्खेत: प्रदेश राजधानी सुर्खेतमा जफत गरिएका सवारी साधनको व्यस्थापन गरिने भएको छ । जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने तयारी गरिएको छ । त्यस्ता सवारी साधनको व्यवस्थापनको लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको प्रक्रिया अगाडी बढाइने भएको छ ।

कर्णाली सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयन भएमा सुर्खेतमा विभिन्न कारणले प्रहरीले जफत गरेका सबै सवारी साधन प्रक्रियाअनुसार लिलाम बिक्री हुनेछन् । उक्त बैठकले भाडादर निर्धारण तथा समायोजनको लागि पनि पहल गरेको छ । प्रदेश यातायात कानुन नबनेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको आधारमा सरोकारवालाहरूलाई सहभागि गराई तत्काल भाडा निर्धारण गर्न प्रशासन कार्यालयलाई लेखि पठाउने निर्णय भएको छ ।

यस्तै, प्रदेशमा सञ्चालन हुने अटो रिक्साको व्यवस्थापनको लागि यातायात व्यवस्था कार्यालय सुर्खेत वा सम्बन्धित स्थानीय तहमा दर्ता भएका अटो रिक्साको विवरण प्रदेश ट्राफिक कार्यालयलाई उपलब्ध गराउने भनिएको छ । सो विवरणको अध्ययन गरी प्रदेश ट्राफिक कार्यालयले उचित व्यवस्थापन गर्ने निर्णय भएको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री रोकायाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश ट्राफिक प्रहरी प्रमुख भुवनेश्वर तिवारी, जिल्ला प्रहरी प्रमुख पदम बहादुर बिष्ट, यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंलगायत सरोकारवाला अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ असार २०७९, बुधबार ०५:०१