सर्पदंशको उपचारमा समस्या

सुर्खेत: दैलेखका ग्रामीण भेगमा सर्पदंशका बिरामीले उपचार पाउनै मुस्किल हुने गरेको छ । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यानै जाने गरेको हो । सर्पको टोइका कारण केही व्यक्तिहरू अङ्गभङ्गसमेत हुने गरेको छन् । चिकित्सकहरूका अनुसार सर्पले टोकेमा तत्कालै उपचार गराउनु पर्ने हुन्छ । स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने भएकाले दुर्गमका नागरिकले बेलैमा उपचार नपाउने गरेका हुन् । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता भएकाले उपचार नपाएर ज्यान जाने गरेको दुर्गमका बासिन्दाको गुनासो छ । स्वास्थ्य चौकीहरूमा सर्पदंशको सामान्य उपचार गर्ने औषधिसमेत नरहेको चामुन्डा विन्द्रासैनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानकुमारी शाहीले बताइन् । उनी भन्छिन् ‘सर्पले टोक्ने वित्तिकै स्वास्थ्य चौकीमा ल्याइँदैन, सकेसम्म घरेलु उपचार गरिन्छ ।’ पछिल्ला वर्षहरूमा सर्पको टोकाइबाट चामुन्डामा कसैको ज्यान भने नगएको उनले बताइन् ।

जिल्ला अस्पतालमा समेत सर्पको टोकाइको सामान्य उपचार हुने गरेको छ । दैलेख जिल्ला अस्पतालका मेडिकल अधिकृत सुशीला कटुवालले धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन,’ उनले भनिन् । यो समयमा दिनमा तीन/चार जना सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेको उनले जनाइन् । जेठ÷असारमा सर्पदंशका बिरामी धेरै हुने गरेको असपतालले जनाएको छ ।

सर्पदंशको उपचार सहज बनाउनुपर्ने दुल्लू नगरपालिका–१० का विष्नु थापा बताउँछन् । ‘यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् । खेतबारीमा काम गर्नैप¥यो, त्यही क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ ।’ सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि जिल्ला अस्पताल नै पुग्नुपर्ने भएकाले झनै समस्या हुने गरेको उनले बताए । असार लागेयता प्रदेश अस्पतालमा सुर्खेतमा पनि सर्पदंशको उपचार गर्नेको संख्यामा वृद्धि भएको छ । अस्पताल प्रशासनका अनुसार गत वर्ष यही सिजनमा ८० जना सर्पदंशका बिरामीको उपचार भएको थियो । यो वर्ष उक्त संख्यामा वृद्धि भएको जनस्वास्थ्य निरीक्षक पृथ्वी शाहीले जनाए । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइने गरेको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । प्रदेश अस्पतालका प्रमुख डा.डम्बर खड्काले सर्पको विषलाई चार वर्गमा बाँडेर उपचार गर्ने गरिएको बताए । उनले सर्पको टोकाईबाट पछिल्लो समय कसैको मृत्यु भने नभएको बताए । डा. खड्काका अनुसार सरकारले (एन्टी स्नेक भेनम) नामकको सुई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः   २६ असार २०७९, आईतवार ०५:०१