अर्थमन्त्रीद्वारा राजीनामा

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानबिन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ । उनीमाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।

छानविन गर्न समिति गठन

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबाट प्राप्त संसदीय छानबिन समितिका ११ जनाको नाम प्रस्ताव गरेका थिए । छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहेका छन् । एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन् । यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानबिन समिति गठन भएको बताए । अर्थमन्त्रीले अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गरेको खबर सञ्चार माध्यम र संसद्मा समेत उठेकोले यसबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सभामुख सापकोटाले बताए ।

यसैबीच नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ । माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए । ‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने, ‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो । छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन ।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए ।

प्रकाशित मितिः   २२ असार २०७९, बुधबार १८:०६