पूर्वतयारी गर

वर्षात्को समय छ । वर्षात्मा बर्सेनि प्राकृतिक विपद निम्तिन्छ । चट्याङदेखि बाढीपहिरोसम्मका विपदबाट धनजनको क्षति हुन्छ । क्षति हुँदा तत्कालीन राहत दिने गरेपनि सरकारले जोखिम न्यूनिकरणका लागि आवश्यक पहलकदमी भने गर्ने गरेको छैन । बेमौसमी वर्षातले पनि क्षति गरिरहेको हुन्छ । यस्ता प्राकृतिक प्रकोपले धेरैको ज्यान लिएको छ । धेरै परिवारको बिचल्ली भएको छ । विशेष गरेर असारदेखि भदौ महिनासम्म मौसमी वर्षा हुन्छ । यस्तो समयमा पहाडी भागमा पहिरो जाने क्रम रोकिएको छैन, बाढीपहिरोको त्रास उस्तै छ । बर्सेनि यस्ता घटना भइरहँदा यसको रोकथामको उपाय र सुरक्षाको नीतिमा भने राज्य कमजोर छ । गम्भिर हुन सकेको छैन । लपारबाही गरिएको छ ।

एकातिर पहाडी भूभागमा पहिरोको उच्च जोखिम छ भने ससाना खोलाहरूमा भने बाढीको जोखिम अत्यधिक हुने गरेको छ । साना तथा ठूला खहरेका कारण भौतिक तथा मानवीय रूपमा पनि क्षति निम्तिन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उचित निकास नहुँदा वर्षातको समयमा पानी जम्ने र डुबान पर्नेगरेको छ । यति हुँदाहुँदै पनि वीरेन्द्रनगर उपत्यकामा पानी निकासका लागि उचित प्रबन्ध गरिएको छैन । साँघुरो निकास खोलाकै भर पर्ने गरिएको छ । यस्तो समस्या हुने ठाउँहरूमा पूर्वतयारी अपरिहार्य हुन्छ । जोखिम न्यूनिकरणका लागि पूर्वतयारी नगर्नाले नै हरेक वर्ष क्षति बेहोर्नुपरिरहेको छ । प्राकृतिक विपत्तिको जोखिमबाट बच्न र राहतका लागि पुनस्र्थापना गर्न तत्काल ध्यान दिनु आवश्यक देखिन्छ । तत्काल प्राकृतिक विपत्ति आइहालेमा तुरुन्त जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा नै रहनुपर्ने देखिन्छ । यसमा नेपाल सरकार, स्थानीय तहलगायतले साथ–सहयोग गरेर अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ । क्षति भइसकेपछिको राहत मात्रै राज्यको दायित्व होइन । क्षति हुन नदिनका लागि अपनाउनुपर्ने सतर्कता अझ महङ्खवपूर्ण हुन्छ । जसले सम्भावित क्षति रोक्न मद्दत गर्दछ ।

अहिले मुलुकमा तीन तहका सरकार छन् । तीनै तहका सरकारले प्राकृतिक विपद् न्यूनिकरण तथा रोकथामका लागि आवश्यक नीति बनाउने, बजेट छुट्याउने र कार्यक्रम कार्यान्वयन गर्ने अधिकार पाएका छन् । तर सरकारको नेतृत्वमा रहनेहरूको गैरजिम्मेवारीपन् र बेवास्ताका कारण कार्यान्वयन हुन सकेको छैन । नेतृत्व तहबाटै हेलचक्य्राइँ हुँदा बर्सेनि क्षति बेहोर्नुपर्ने बाध्यता बनेको छ । यस्तो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २२ असार २०७९, बुधबार ०५:०१