खर्चमा सुधार

चालु आथिक वर्ष सकिन दुई साता बाँकी छ । तर कर्णाली प्रदेश सरकारको बजेट खर्च भने निकै न्यून छ । कूल बजेटको जम्मा ३५.७७ प्रतिशत खर्च भएको छ । जेठ मसान्तसम्म चालु र पुँजीगत गरी ३० प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले त्यसयताका दुई सातामा थप पाँच प्रतिशत खर्च गरेको हो । यो अवधिमा पुँजीगततर्फ ३०.०७ र चालुतर्फ ४५.८४ प्रतिशत बजेट खर्च भएको छ । सरकारले जेठ मसान्तसम्म चालु ३८.९२ र पुँजीगत २५.०४ प्रतिशत गरी समग्रमा ३०.२० प्रतिशत बजेट कार्यान्वयन गरेको थियो ।

असारमा पुँजीगत खर्च ह्वातै बढ्ने सरकारको दाबी रहेपनि त्यसअनुरूप प्रगति भने देखिएको छैन । आधा असार गइसक्दा विकासे मन्त्रालयहरूले समेत उल्लेखनीय खर्च बढाउन नसकेका हुन् । प्रदेश लेखा नियन्त्रक कार्यालयको पछिल्लो विवरणअनुसार पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ । पुँजीगततर्फ विनियोजित २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमध्ये अहिलेसम्म सात अर्ब ३८ करोड ३७ लाख मात्रै खर्च भएको हो । प्रदेश सरकारले चालु आार्थिक वर्ष २०७८÷०७९ मा कूल विनियोजित बजेटको ७७.०३ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्ष घर्किनै लाग्दासमेत लक्ष्यको आधा बजेट पनि खर्च भएको छैन । सरकारले लक्ष्य भेट्न असार मसान्तसम्म थप झन्डै ४२ प्रतिशत रकम खर्च गर्नुपर्ने छ । चालु वर्षका लागि विनियोजित ३६ अर्ब ५४ करोड ६६ लाख मध्ये २८ अर्ब १५ करोड ४६ लाख ३५ हजार खर्च हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बाँकी अवधिमा ४० प्रतिशत हाराहारी बजेट कार्यान्वयन हुने दाबी गरेको छ । मसान्तसम्म बजेट खर्च ७७ प्रतिशतमा पुग्ने आकलन मन्त्रालयले गरेको हो ।

साढे ११ महिनामा साढे १३ अर्ब हाराहारी मात्रै खर्च गरेको सरकारले अनुमान गरेजति बजेट कार्यान्वयनमा भने चुनौति देखिएको छ । लक्ष्यमा पुग्न चालु र पुँजीगत गरी अबका दुई सातामा २१ अर्बभन्दा बढी बजेट कार्यान्वयन गर्नुपर्ने देखिएको छ । कर्णाली सरकारले विगतमा पनि बजेटको ठूलो हिस्सा असारमा खर्चिने गरेको थियो । आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने परिपाटीका कारण आलोचित हुँदै आएको सरकारले यसपटक पनि उही प्रवृत्तिलाई निरन्तरता दिएको छ । यसले बजेट कार्यान्वयनमा बेथितिलाई बढावा दिएको छ । वर्षान्तमा खर्च बढाउनेभन्दा पनि सुरुवातदेखि नै प्रभावकारी ढंगबाट कार्यान्वयनमा ध्यान दिन सकेमा यसखालका बेथिति नियन्त्रण हुनेछन् ।

प्रकाशित मितिः   २० असार २०७९, सोमबार ०५:०३