आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिममा हुने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मध्यपश्चिममा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को घोषणाको यस क्षेत्रमा स्वागत गरिएको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रवार धरानमा भएको समापन समारोहमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली र राखेप सदस्य–सचिव केशव बिष्टले संयुक्त रुपमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झण्डा हस्तान्तरण गरेसँगै खेल क्षेत्रमा खुशीयाली छाएको हो ।

 

‘मध्यपश्चिमले आँट गरेको छ । सबैको सहयोग र साझेदारीमा भव्य ढंगले सफल पार्ने जिम्मेवारी पाएका छौ’ क्षेत्रीय अध्यक्ष ओलीले भने ।

२०३८ सालमा बृहत राष्ट्रिय खेलकुद प्रारम्भ भएको हो । काठमाडौंबाट सुरु प्रतियोगिता २०४० सालमा दोस्रो पश्चिमाञ्चलको पोखरा तथा २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद वीरगञ्जमा भएको थियो । २०६५ चैतमा पाँचौ प्रतियोगिता काठमाडौंमा र छैटौं संस्करण ०६८ सालमा सुदुरपश्चिमको धनगढी र महेन्द्रनगरमा आयोजना गरिएको थियो ।

प्रकाशित मितिः   १५ पुष २०७३, शुक्रबार १५:१४