२८ प्रतिशतमात्रै रोपाइँ
सुर्खेत: मध्यअसार भइसक्दा कर्णालीमा न्यून क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशभर जम्मा २८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । रासायनिक मलको अभाव र समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भएको किसानहरूले बताएका छन् । बुधवार असार १५ अर्थात् धान दिवस मनाइएको छ ।
‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो । धान दिवसको अवसर पारेर कर्णालीमा सार्वजनिक बिदासमेत दिइएको थियो । विगतका वर्षहरूमा यो अवधिमा आधा क्षेत्रफलमा रोपाइँ सम्पन्न हुने गरेकोमा यसपटक ढिला भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम सुर्खेतमा पाँच प्रतिशत भएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा ३८ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । असार १५ सम्म कूल रोपाइँ हुनेमध्ये १० हजार आठ सय ९२ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम सुर्खेतमा पाँच प्रतिशत भएको छ । यस्तै, डोल्पामा ९६, हुम्लामा ७२, कालीकोटमा ६०, मुगुमा ३४ र सल्यानमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ गरिएको छ । त्यस्तै, आधा असारसम्म रुकुम–पश्चिममा ४० र जाजरकोटमा ३८ प्रतिशत धान रोपिएको छ । यसपालि कर्णालीका केही जिल्लामा चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइँ सुरु भएको थियो । धान रोपाइँका लागि पानी र मल अभाव हुँदा समस्या भएको किसानहरूले बताएका छन् । केही दिनयता मनसुन सक्रिय भए पनि रासायनिक मलको भने अभाव कायमै छ ।
प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।