मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकारले चुनावको तयारी गरेको भन्दै आन्दोलन घोषणा गरेको छ ।

काठमाडौंमा बसेको दुई दिनको बैठकले यही पुस १८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चाको जनाएको छ ।

शुक्रबार मोर्चाका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरिएको जानकारी दिए । उनले संशोधन पारित नभएसम्म कुनै पनि तह वा निकायको चुनाव मोर्चालाई मान्य नहुने चेतावनी दिए । उनले पुस १८ गते सोमबार दिनको १ बेजे देशभरका जिल्ला सदरमुकाममा आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम लगायतले खबरदारीस्वरुप विरोध प्रदर्शन गर्ने बताए ।

मोर्चाले एमालेले संसदमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अभ्यासविपरीत भएको ठहर गरेको छ ।

प्रकाशित मितिः   १५ पुष २०७३, शुक्रबार १४:०७