मध्यअसार हुनै लाग्दा एक चौथाइ रोपाइँ

रासायनिक मल र आकाशे पानी कुर्दै किसान

 

सुर्खेत: कर्णालीका अधिकांश जिल्लामा यसपटक फाटफुट मात्रै रोपाइँ भएको छ । असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । मध्यअसार हुन लाग्दा पनि यसपालि न्यून क्षेत्रमा मात्रै धान रोपिएको छ । पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो ।

कृषि विकास निर्देशनालयको विवरणअनुसार शनिवारसम्म सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ । सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । निर्देशनालय प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर २५ प्रतिशत हाराहारी मात्रै रोपाइँ भएको जनाए ।

असारको दोस्रो साता लागि सक्दा दैलेखमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष उक्त जिल्लामा यो अवधिमा ४० प्रतिशत रोपाइँ गरी सकिएको थियो । वर्षा नहुँदा धेरैजसो स्थानमा धान रोप्न सुरु नै नभएको जिल्ला कृषि विकास कार्यालयका प्रमुुख नरेन्द्र थापा बताउँछन् । ‘केही स्थानमा आधा रोपाइँ भएपनि अधिकांश ठाउँमा भने सुरु हुुन सकेको छैन,’ उनले भने । थापाका अनुसार जिल्लाको नौमूले क्षेत्रमा ६० प्रतिशत रोपाइँ भएको छ । डुुङ्गेश्वर गाउँपालिकामा पाँच प्रतिशत, महाबुु गाउँपालिकामा १५ प्रतिशत, राकम कर्णालीमा १५, नारायण नगरपालिका र गुुराँस गाउँपालिकामा ५÷५ प्रतिशत क्षेत्रमा धान रोपिएको हो । कृषि बालीलाई आवश्यक वर्षा नहुुँदा मकैमा समेत असर परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘दैलेखमा मकै बाली प्रमुुख हो,’ कार्यालय प्रमुख थापा भन्छन्, ‘अहिले मकै उम्रेको छैन, उत्पादन घट्ने देखिन्छ ।’

असार ११ गतेसम्म जाजरकोटमा ४० प्रतिशत, सल्यानमा ३५ प्रतिशत, हुुम्लामा ७२ प्रतिशत, मुुगुुमा ३४ प्रतिशत र डोल्पामा ५० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ । त्यस्तै, कालीकोटमा ६० प्रतिशत रोपाइँ भएको छ । उक्त जिल्लामा यसपालि अघिल्लो वर्षको तुुलनामा ढिलागरी रोपाइँ सुरु गरिएको थियो । कृषि विकास कार्यालय कालीकोटका सूचना अधिकारी चन्द्रबहादुुर शाहीले जिल्लाको माथिल्लो भेकमा लगभग सकिएको र तल्लो क्षेत्रमा भर्खरै सुरु गर्न थालिएको बताए । सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको उनको भनाइ छ । रूकुुम–पश्चिममा ५३ प्रतिशत भू–भागमा धान रोपिएको छ । गत वर्ष यो समयमा जिल्लामा ६४ प्रतिशत रोपाइँ सकिएको थियो । समयमै पानी नपर्दा धान रोप्न ढिलाइ भएको कृषि विकास कार्यालयका सूचना अधिकारी महेशकुुमार विष्टले जनाए । रूकुुम–पश्चिममा धेरैजसो क्षेत्रमा आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैनन् ।

जुुम्लामा भने लगभग धान रापेर सकिनै थालेको छ । २९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने यो जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको हो । त्यहाँ अधिकांश भू–भागमा मार्सी धान रोपिन्छ भने थोरै स्थानमा मात्रै चन्दननाथ एक र तीन जातको धान रोप्ने गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुुर भण्डारीले छिटफूटबाहेक लगभग रोपाइँ सम्पन्न भएको बताए । जिल्लामा ४० प्रतिशत धानखेती गोडमेलसमेत भइसकेको छ । जुुम्लामा गत वर्ष यो अवधिमा शतप्रतिशत रोपाइँ भइसकेको थियो । गएको वर्ष बाली राम्रो भएपनि वर्षाले धान खेतीमा ठूलो असर गरेको थियो । बेमौसमी वर्षाका कारण आएको बाढीले यहाँका कतिपय मार्सी फल्ने फाँट नै बगर बनेका थिए ।

यसपटक कर्णालीका केही जिल्लामा चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइ थालिएको थियो । धान रोपाइँका लागि पानी र मल अभावले सकस भएको किसानहरूले बताएका छन् । पछिल्ला दिनमा वर्षा हुन थालेपनि रासायनिक मलको भने चरम अभाव कायमै छ । धान खेतीको लागि आवश्यक पर्ने रासायनिक मल अभाव हुुँदा किसान मर्कामा परेका छन् । कर्णालीमा मल अझै आइनपुगेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख अमूल्यलाल श्रेष्ठले बताए । ‘केन्द्रमा नै मल आउने टुुङ्गो छैन,’ उनले भने, ‘यो वर्ष पनि किसानले धान रोपाइँका लागि मल नपाउने देखियो ।’ रासायनिक मल नपाएपछि धानको उत्पादन घट्ने चिन्ता किसानलाई छ । धान रोप्ने सिजनमा यहाँ सधै मल अभाव हुने गरेको छ । कर्णालीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले अनुदानमा रासायनिक मल बिक्री–वितरण गर्दै आएका छन् । यी दुवै सरकारी स्वामित्वका कम्पनीका गोदाम अहिले रित्तै छन् ।

कर्णाली प्रदेशको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । विगत वर्षहरूको तुुलनामा यसपटक धान रोप्न केही ढिला भएको भूूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुुख धनबहादुर कठायतले बताए । ढिलागरी बाली लगाउँदा उत्पादनमा असर पर्ने उनले जनाए ।

प्रकाशित मितिः   १२ असार २०७९, आईतवार ०५:०५