पेट्रोलियम पदार्थको मूल्य घट्यो

कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर एक सय ६३ र पेट्रोल एक सय ७९ रूपैयाँ पर्नेछ ।

सुर्खेत: पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको हो । शनिवार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताएका हुन् । मन्त्री बडूले डिजेलमा २९ रूपैयाँ र पेट्रोलमा २० रूपैयाँ कर कटौती गरेको जानकारी दिए । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर एक सय ६३ र पेट्रोल एक सय ७९ रूपैयाँ पर्नेछ ।

शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सुझाव दिएको थियो । हाल पूर्वाधार करबापत पेट्रोल–डिजेलमा प्रतिलिटर १० रूपैयाँ कर लाग्दै आएको छ । यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाएको थियो ।

प्रकाशित मितिः   १२ असार २०७९, आईतवार ०५:०१