वीरेन्द्रनगरमा देखियो बर्डफ्लू
सुर्खेत: वीरेन्द्रनगरमा बर्डफ्लूको संक्रमण देखिएको छ । वीरेन्द्रनगर–३ तातापानीमा एक किसानले व्यावसायिक रूपमा पालेको पन्छीमा बर्डफ्लू पुष्टि भएको हो । एकै दिन ठूलो संख्यामा टर्की र कुखुरा मरेपछि ति किसानले पशुपन्छी विकास निर्देशनालयलाई खबर गरेका थिए । मरेका पन्छीको नमुना परीक्षण गर्दा बर्डफ्लूको संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाईंकाअनुसार केन्द्रीय पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा नमुना परीक्षण गरिएको थियो । ‘रिपोर्टबाट बर्डफ्लू पुष्टि भएको छ,’ उनले भने, ‘पशु चिकित्सकको टोली उक्त क्षेत्रमा गएर थप अनुसन्धान सुरु गरिरहेको छ ।’ निर्देशनालयका अनुसार सो फर्ममा साना–ठूला गरी झन्डै एक हजार पाँच सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मार्ने तयारी गरिएको छ ।
संक्रमण क्षेत्र घोषणा गरी बर्डफ्लू नियन्त्रणका लागि बिहीवार नै डिस्पोजल टोलि परिचालन गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमित क्षेत्रमा रोग फैलन नदिन जनचेतना तथा सतर्कता अपनाउन प्रशासनले अनुरोधसमेत गरेको छ । स्थानीय प्रशासनले बिहीवार एक सूचना जारी गरी पन्छीजन्य व्यवसाय संलग्न व्यवसायी र उपभोक्तालाई उच्च सतर्कता अपनाउन भनेको हो । पशु चिकित्सकहरूका अनुसार थप संक्रमण फैलिन नदिन बर्डफ्लू देखिएको क्षेत्रको चारैतिर पाँच सय मिटर दूरीका सबै पन्छी नष्ट गर्नुपर्ने हुन्छ । बर्डफ्लू मुख्यतयाः कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो । यसको संक्रमण मानिसमा पनि सर्न सक्छ ।
प्रकाशित मितिः १० असार २०७९, शुक्रबार ०५:०१
साझा बिसौनी ।