लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट
एक हजार ६ थान मुद्दा संख्या रहेकोमा ६ सय ७५ थान अर्थात् कूल मुद्दाको ६७.१० प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् ।
सुर्खेत: उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ नसकिँदै वार्षिक लक्ष्यभन्दा धेरै मुद्दा टुँगो लागेको अदालतले जनाएको छ ।
अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा पाँच सय ६१ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर जेठ महिना सम्ममा ६ सय ७५ थान मुद्दा फछ्र्योट भइसकेको अदालतका रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनले जेठ मसान्तसम्म लक्ष्यभन्दा एक सय १४ थान बढी मुद्दा फछ्र्यौट भएको बताए ।
यस्तै, चालु आर्थिक वर्षमा गत वर्ष फछ्र्यौट हुन बाँकी रहेका दुई सय ६५ थान र चालु आर्थिक वर्षमा दर्ता भएको सात सय ४१ थान गरी जम्मा एक हजार ६ थान मुद्दा संख्या रहेकोमा ६ सय ७५ थान अर्थात् कूल मुद्दाको ६७.१० प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् । उच्च अदालत सुर्खेतमा अहिले दुई वर्ष नाघेका कुनै मुद्दा बाँकी छैनन् । गत वर्ष फछ्र्यौट हुन नसकी बाँकी रहेका मुद्दा दुई सय ६५ थान मध्ये १६ थान मात्र मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । बाँकी मुद्दामध्ये अधिकांश मुद्दा ६ महिनाभित्र दर्ता भएका मुद्दा नै रहेका छन् ।
अदालतमा ६ महिनाभित्रका मुद्दा दुई सय २५ थान, ६ महिना नाघेका मुद्दा ९० थान, १२ महिना नाघेका मुद्दा ६ थान र १८ महिना नाघेका मुद्दा १० थान गरी तीन ३१ थान मुद्दाका रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रूपमा निकै बढी रहेको भए पनि यस वर्ष फछ्र्योट दर निकै बढी रहेकोले पुराना मुद्दा सबै सकिएका अदालतले जनाएको छ ।
प्रकाशित मितिः ६ असार २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।