हर्षोल्लासका साथ आज ल्होसार मनाइँदै
गुरुङ्ग समुदायले आज (शुक्रवार) आफ्नो नयाँ वर्षको रूपमा तमु ल्होसार मनाउँदैछन् । यो पर्वमा मान्यजनहरूको आशीवार्द लिने र शुभकामना आदान–प्रदान गरिने, राम्रो लगाउने, मिठो खाने प्रचलन रहेको छ ।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतिकका रूपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको छ । सरकारले ल्होसारको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । ल्होसारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदान–प्रदान गरिन्छ ।
आजका दिन नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा छ । नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ्ग, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातिले पनि मनाउने गर्छन् । तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पालगायतले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् ।
सुर्खेतमा पनि यहाँका गुरुङ समुदायले खुसीयालीका साथ यो पर्व मनाइरहेका छन् । वीरेन्द्रनगरमा अाफ्नो जातीय भेषभुषामा र्याली समेत निकालिएको छ ।
प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १२:११
साझा बिसौनी ।