‘मानवअधिकार सन्तोषजनक छैन’

सुर्खेत: कर्णाली प्रदेशमा मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले कर्णालीमा अहिले पनि मानव अधिकार उल्लघंनका घटना उल्लेख्य हुने गरेको बताए ।

आधारभूत अधिकारबाट समेत कर्णालीका नागरिक वञ्चित भएको भन्दै सचिव खरेलको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार, श्रमलगायतका क्षेत्रमा अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ’ सचिव खरेलले भने । उनले विशेष गरेर खाद्य अधिकारको सवालमा कर्णाली निकै कमजोर रहेको जनाए । ‘खाद्यान्नका परिपूर्ति गर्नका लागि दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिन्छ’ उनले भने ।

यसैबीच मानवअधिकार आयोगको प्रादेशिक कार्यालय वीरेन्द्रनगर सुर्खेतमा स्थापना भएको छ । कार्यालय स्थापना भएसँगै आयोगले उजुरी समेत लिन सुरु गर्ने भएको छ । आइतवार आयोगको प्रादेशिक कार्यालय स्थापनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सचिव खरेलले अब मानवअधिकारको विषयमा सरकारलाई जवाफदेही बनाउन सहज हुने जनाए ।

राज्यका तहमा बस्नेहरू नागरिकप्रति जवाफदेही नभएको भन्दै उनले विकासमा समेत दिगो सोच नराखेको सुनाए । उनले मानव अधिकारको उल्लघंनका घटना घटेमा कार्यालयमा सम्पर्क गर्न नागरिकलाई आग्रह समेत गरे ।

आयोगको प्रादेशिक कार्यालय कर्णालीका प्रमुख मानबहादुर कार्कीले आयोगले सुक्ष्म रूपमा अनुसन्धान गरेर मानवअधिकार उल्लघंनका घटना भएको खण्डमा सरकारलाई सिफारिस गर्ने बताए ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७९, सोमबार ०५:०१