उजाड बन्दै उपत्यका

हरियाली फर्काउने प्रयासमा नगरपालिका, विरुवा संरक्षणमा चुनौति

सुर्खेत: केही वर्ष अघिसम्म वीरेन्द्रनगर उपत्यका सफा र हराभरा थियो । सडकका दुवै किनारमा लहरै रुख थिए । नगरभित्रका थुप्रै ठाउँमा बरपिपलका चौतारी देखिन्थे । गर्मीयाममा त्यसकै छहारिमा बटुवाहरू सुस्ताउन्थे । प्रशस्तै रुखविरुवा भएकाले वीरेन्द्रनगर वातावरणमैत्री मानिन्थ्यो । सडक छेउको हरियालीले नगरको शोभासमेत बढाएको थियो । सडक विस्तारसँगै ती रूखहरू मासिए, हरियाली हरायो । रोपिएका विरुवा संरक्षणको अभावमा जाग्न सकेनन् । भौतिक पूर्वाधारको विकासमा मात्रै जोड दिइँदा वीरेन्द्रनगरको वातावरण बिग्रदै गयो । अनियन्त्रित सहरीकरणसँगै अहिले वीरेन्द्रनगर उजाडजस्तै बनेको छ ।

हरियाली फर्काउने प्रयासमा नगरपालिका, विरुवा संरक्षणमा चुनौति

वातावरणीय हिसाबले नगरलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास नगरपालिकाले थालेको छ । तर, नगरले हरियाली प्रवद्र्धनका लागि बनाइएको नीति पूर्णरूपमा कार्यान्वयन भने हुन सकेको छैन । ‘एक घर दुई विरुवा’को नीति लिएको नगरले नयाँ घर निर्माण गर्दा कम्तीमा दुई वटा विरुवा लगाउनै पर्ने भनेको छ । उक्त नियम कडाइका साथ लागू भएको छैन । हरियाली नगर बनाउन ‘एक घर दुई विरुवा’को योजना अघि बढाएपनि कार्यान्वयनमा केही व्यवहारिक जटिलताहरू देखिएको जनाइएको छ । नगरपालिकाका योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेल जुनसुकै सिजनमा विरुवा रोप्न सम्भव नहुने भएकाले त्यसको कार्यान्वयनमा चुनौति भइरहेको बताउँछन् । उनी भन्छन्, ‘यो नीतिलाई संशोधन गरेर अलि व्यवहारिक बनाउने तयारी गरिएको छ । नीतिको मोडालिटीमा हेरफेर गरिनेछ ।’ उनका अनुसार निर्माण सम्पन्नको सिफारिस दिँदा नगरले घरधनीसँग घर निर्माण स्थल नजिकै दुई वटा विरुवा रोपेको फोटो खोज्ने गरेको छ । विरुवासहितको फोटो भने सबै घरधनीले राख्ने गरेका छैनन् ।

पछिल्ला वर्षहरूमा बस्ती विकास र सडक विस्तार धमाधम हुन थालेपछि वीरेन्द्रनगरका थुप्रै रुख काटिएका छन् । ती स्थानमा नयाँ विरुवा रोप्ने काम भएपनि उचित संरक्षण छैन । सडक किनारमा बर्सेनि सयौँ विरुवा रोपिए पनि संरक्षणको दीर्घकालीन योजना नहुँदा बजेटमात्रै खर्चिने काम भइरहेको कतिपयको भनाइ छ । वीरेन्द्रनगर–७ का डिल्ली दहाल भन्छन्, ‘नगरले ग्रिन सिटीको अवधारणा ल्याएपनि रुखविरुवा जोगाउने दीर्घकालीन योजना बनाएको देखिँदैन ।’ वृक्षारोपण गर्दा सडक क्षेत्र र बिजुलीको लाइनको समेत ख्याल नगरिँदा विरुवा हुर्किन बित्तिकै हटाउनुपर्ने अवस्था आउने गरेको उनी बताउँछन् । ‘सडक यरियामा विरुवा लगाइन्छ,’ पेसाले इन्जिनियरसमेत रहेका दहालले भने, ‘त्यसरी हचुुवामा रोपिएका विरुवा सडक विस्तार गर्दा केही वर्षमै हटाउनुपर्ने बाध्यता हुन्छ ।’ वृक्षारोपण गर्दा निश्चित मापदण्ड अपनाउनुपर्ने खाँचो रहेको उनले बताए ।

ग्रिन सिटी अवधारणा अन्तर्गत पछिल्लो समय नगरको हरियाली प्रवद्र्धनमा सरकारी निकायमात्रै नभइ गैररकारी संस्था र कतिपय निजी क्षेत्रबाट पनि वृक्षारोपणलगायतका कामहरू भइरहेका छन् । नगरपालिकाले यो वर्ष तीन हजार पाँच सय विरुवा रोप्ने योजना बनाएको छ । जसअनुसार अहिले एक हजार विरुवा लगाउने अभियान चलिरहेको योजना तथा वातावरण शाखा प्रमुख पौडेलले बताए । दुई हजार हाराहारी विरुवा लगाउन केही दिन पहिले नगरपालिकाले टेण्डर गरेको छ । मंगलगढीदेखि पश्चिमपट्टीको फो–लेन सडक किनार र बजार क्षेत्रका केही स्थानमा वृक्षारोपणका लागि टेण्डरमार्फत काम अघि बढाइएको हो । त्यसका साथै थप विरुवा लगाउन प्रदेश सरकारसँग पनि समन्वय भइरहेको पौडेलले बताए । नगरले वृक्षारोपणसँगै त्यसको संरक्षणका लागि जनशक्ति व्यवस्थापन गरिने जनाएको छ । विरुवा जोगाउन हेरालो र गोडमेलको व्यवस्थापन गर्न लागिएको छ । जोखिमयुक्त रुखहरूको हाँगा काट्ने तथा जीर्ण अवस्थाका रुखहरू हटाउँदै जाने नीति पनि नगरले लिएको छ । खाली भएका त्यस्तो स्थानमा वृक्षारोपण भइरहेको नगरले जनाएको छ । बाटो बनाउँदै जाने क्रममा रुखहरू मासिए पनि वृक्षारोपणमार्फत विस्तारै विगतकै अवस्थामा फर्काउने गरी योजनाहरू अघि बढाइएको नगरपालिकाको दाबी छ ।

बर्खायाम सुरु भएपछि हरेक वर्ष वृक्षारोपणको अभियान नै चल्छ । नगर क्षेत्रमा पनि ठूलो संख्यामा विभिन्न जातका विरुवा रोपिन्छन् । तर, तीमध्ये केहीबाहेक अधिकांश संरक्षणको अभावमा नहुर्किदै नासिन्छन् । वीरेन्द्रनगर उपत्यकामा वृक्षारोपणसँगै सरसफाइमा पनि उचित ध्यान दिइनुपर्ने वातावरण संरक्षणसम्बन्धी जानकारहरू बताउँछन् । वातावरण संरक्षणका अभियान्ता डा. नवराज केसीले वीरेन्द्रनगरमा खासगरी प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन कमजोर रहेको बताए । त्यसको असर हरियाली प्रवद्र्धनमा परिरहेको उनको बुझाइ छ । ‘विरुवा रोपेर मात्रै हुँदैन, त्यसलाई अनुकूल वातावरण तयार गरेर हुर्कानु महŒवपूर्ण हुन्छ,’ डा. केसी भन्छन् । उनले वीरेन्द्रनगरको पर्यावरणको अवस्था हेरि यहाँ उपयुक्त हुने विरुवाहरू रोप्ने नीति नगरपालिकाले लिनुपर्ने सुझाए । भौतिक संरचना निर्माणलाई मात्रै विकास ठान्ने सोच र प्रवृत्तिका कारण वातावरण असन्तुलित हुँदै गएको उनको भनाइ छ । स्थानीय र जनप्रतिनिधिहरूले पनि वातावरण संरक्षणभन्दा सडक विस्तारजस्ता भौतिक संरचनालाई बढी प्राथमिकता दिँदै आएका छन् । वातावरण संरक्षणका लागि राजनीतिक प्रतिबद्धता र स्थानीयस्तरबाट पनि नगरसँग कमै योजना माग्ने गरिएको छ । बढ्दो सहरीकरणसँगै हराउँदै गएको हरियालीले वीरेन्द्रनरको वातावरण र सौन्दर्यमा असर परिरहेको छ ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७९, सोमबार ०५:०३