अदालत हाटबजार जस्तो होइन : प्रधानन्यायाधीश कार्की
प्रधानन्यायाधिस शुशिला कार्कीले अदालतलाई हाटबजार जस्तो नभएको बताएकी छिन् । उनले अदालतलाइ हाटबजारजस्तो भिडभाड हुने थलो बनाउन नहुने बताएकी छिन् । सेवा लिन आएकालाई समयमै सेवा प्रवाह गरेर न्याय दिलाउनुपर्ने भन्दै कार्कीले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन न्यायायधीशहरुलाई निर्देशन दिइन् ।
रुकुम जिल्ला अदालत मुसीकोटको नव निर्मित भवन उद्घाटन पछिको सभामा बोल्दै कार्कीले सानो कामको लागि दिनभर अदालत धाउनुपर्ने अवस्थाको अन्त्य हुनुुपर्ने बताइन् । ‘म यहाँ उपस्थिति न्यायधीशहरुलाई सेवाग्राहीको काम जति सक्यो समयमै सक्दिनु भन्न चाहन्छु,’ उनले भनिन्, ‘चाँडै हुने कामलाई ढिला गरी अदालतलाई हाटबजार जस्तो बनाउनु हुँदैन ।’
अदालतले १ घण्टे सेवा सुरु गरेको जानकारी दिँदै कार्कीले त्यसको कार्यान्वयन हुनुपर्ने बताइन् । ‘सेवाग्राही टाढाबाट अदालतको ढोकासम्म आइपुगेका हुन सक्छन्,’ उनले भनिन्, ‘उनीहरुलाई जति चाँडो सेवा दियो त्यति नै न्याय दिएको जस्तो हुन्छ, न्यायाधीशहरुले त्यसतर्फ ध्यान दिनुहोला ।’
अन्य देशका अदालत परिसरमा कोही पनि सेवाग्राहीले लामो समय प्रतिक्षा गर्नु नपर्ने भन्दै उनले अब नेपालका अदालत परिसरमा पनि सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी कार्य सम्पदान गर्न निर्देशन दिइन् ।
अदालतमा आउने जो सुकैलाई पनि झगडियाको रुपमा नभई एउटा सेवाग्राहीको रुपमा हेर्नुपर्ने भनाइ उनको थियो । विशेष गरी महिला र विपन्न वर्ग, सिमान्तकृत समुदायको मुद्दालाई ख्याल गर्न न्यायधीश तथा कानून व्यवसायीलाई सुझाव दिएकी छिन् । महिला र विपन्नका अधिकांश मुद्दा फेल भैरहेको कार्कीको भनाइ थियो ।
प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १८:०८
साझा बिसौनी ।