बजेटको आकार घट्न सक्ने
सुर्खेत: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट निर्माणमा जुटेको छ । बजेट निर्माणका लागि सरोकारवालाहरूसँग छलफल र सुझाव संकलन भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिए ।
अहिले प्रदेशका सबै मन्त्रालयले आ–आफ्ना योजना, कार्यक्रम र बजेट तर्जुमा गर्न छलफल गरिरहेका छन् । छलफल अन्तिम चरणमा पुगेको मन्त्री विष्टले बताए । ‘बजेट निर्माणका बारेमा छलफल गर्ने गरिरहेका छौं,’ उनले भने, ‘प्रत्येक मन्त्रालयहरूले आ–आफ्नो मन्त्रालयका योजना र बजेटका बारेमा छलफल गर्ने क्रम अन्तिम चरणमा छ ।’ मन्त्री विष्टले आगामी बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आउन सक्ने बताए । ‘बजेट बढ्ने सम्भावना देखिँदैन,’ उनले भने, ‘आकार केही घटेर आउने देखिन्छ ।’
यसअघि तीन वटा बजेट पूर्व अर्थमन्त्री प्रकाश ज्वाला र एउटा बजेट गोपाल शर्माले ल्याएका थिए । तर बजेटको आकार अनुसार कार्यान्वयनमा सरकार असफल हुँदै आएको छ । जसले गर्दा प्रदेश सरकारको चर्को आलोचनासहित कार्यकर्तामुखी भएको आरोप पनि लाग्दै आएको छ । यो पटक भने विगतको पाठ सिक्दै केही नयाँ तरिकाले बजेट निर्माण कार्य भइरहेको मन्त्री विष्टले बताए । ‘सकेसम्म विगतको गल्तीलाई नदोहो¥याउने गरेर मन्त्रालयको पूरा टिम खटिएको छ । विगतमा केही कमजोरी र केही राम्रा कामहरू पनि भएका छन् । विगत वर्षको बजेट समीक्षा गर्दै बजेट आउँछ’, मन्त्री विष्टले भने । विगतका कुनैपनि प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न नसकेको भन्दै उनले यो पटक खर्च हुने बजेट निर्माणमा केन्द्रित हुने बताए । ‘आगामी वर्षमा विनियोजित बजेट पूर्णरूपमा कार्यान्वयन हुने गरि अघि बढ्ने प्रयत्न छ’, उनको भनाइ छ ।
प्रदेशसभामा प्रिबजेट पेस भइसकेको छ । शुक्रवारको बैठकमा बजेटका सिद्धान्त, उद्देश्य र प्रमुख नीतिहरू प्रस्तुत गरिएको हो । जसमा अर्थमन्त्री विष्टले प्रदेशको सन्तुलित विकासको लागि आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रूपमा लिइने बताए । उनले भने, ‘सडक, पुल, सिँचाइ, खानेपानी, स्वास्थ्य र शिक्षा लगायतका आयोजनाहरू सम्पन्न गर्न प्रयाप्त रकम विनियोजन गरिने छ । आयोजना बैंक स्थापना गरि सोही बैंकमा रहेका आयोजनाबाट नयाँ आयोजना छनोट गरि स्रोत परिचालन गरिनेछ । नयाँ आयोजना छनोट गर्दा विस्तृति वातावरणीय मुल्यांकलको आधारमा बहुबर्षिय आयोजनाको रूपमा स्वीकृत गरि कार्यान्वयन गरिने छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।